हेटौंडा / मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ घर भएका प्रेमबहादुर बम्जनमाथि गत आइतबार गोली प्रहार भएको थियो । गोली प्रहार गरेको घटनामा संलग्नको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले सोमबार सर्लाहीको बागमती नगरपालिका–७ तुफानपुर घर भएका ३० वर्षका परमानन्द भन्ने विजनन्दन ठाकुरलाई पक्राउ गरेको हो । उनलाई ५ दिन हिरासतमा राख्न सिन्धुली जिल्ला अदालतबाट अनुमति लिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी अनिलकुमार खड्काले बताए । बम्जनले आफूमाथि डाँका समूहले लुटपाट गर्ने उद्देश्यले गोली हानेको बताएका छन् । पर्साको वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा उपचार गराइरहेका उनले आफूलाई बाटो ढुकेर बसेको बताए ।





























