हेटौँडा/ मकवानपुरको विकट कैलाश गाउँपालिकाका लालकुमार प्रजा चेपाङलाई सुरक्षित आवास निर्माण हुने भएको छ । खेतीपातीसँगै बाख्रा, कुखुरा पाल्दै आएका वडा नम्बर ४ धुस्राङ निवासी ५० वर्षका लालकुमारलाई गाउँपालिकाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ समक्ष सिफारिस गरेको थियो ।


गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सिफारिस पत्र बुझाएलगत्तै मुख्यमन्त्री बानियाँले आवास निर्माणका लागि दुई लाख रुपैयाँ सहयोग गरेका हुन्। अध्यक्ष मुक्तानका अनुसार पालिकाभित्र चेपाङ, जनजाति र अति विपन्न समुदायको संख्या धेरै भए पनि लालकुमारलाई प्राथमिकतामा राखी सिफारिस गरिएको हो । मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रमा कोही पनि नागरिक गास, वास र कपासबाट बञ्चित हुन नपरोस् भन्ने लक्ष्यसहित सुरक्षित आवासको व्यवस्था गरिएको बताएका छन् । यसैबीच, राक्सिराङ गाउँपालिका–१ इन्द्रुङका सुमनसिं चेपाङको घर निर्माणका लागि समेत मुख्यमन्त्री बानियाँले पहिलो किस्ताबापत दुई लाख रुपैयाँ हस्तान्तरण गरेका छन्। सुत्केरी श्रीमतीसँग झुप्रोमा बस्दै आएका सुमनसिंलाई व्यक्तिगत खर्चमै घर बनाइदिने घोषणा गर्दै उनले तत्कालै रकम उपलब्ध गराएका हुन् । यस्तै, मनहरी गाउँपालिका वडा ९ निवासी विपन्न दलित महिला मिठुमाया सुनारलाई समेत आवास निर्माणका लागि आवश्यक सहयोग उपलब्ध भइसकेको छ । मुख्यमन्त्री बानियाँले विपन्न परिवारलाई लक्षित गर्दै आवास कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।





























