दक्षिण कोरिया/ गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आयोजनामा आइतबार सम्पन्न भएको परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा भाषणबाजी केही बढी भएको सहभागीहरूको भनाइ भए पनि सम्पूर्ण रूपमा कार्यक्रम व्यवस्थित र फलदायी बनेको जनाइएको छ । दोस्रो सत्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकार तथा सहभागीहरूले नेपाल हाउस, कोरोना किड्स, सिम कार्ड, कोरियन एयर टिकट, एनआरएनएको एकता र आगामी कार्ययोजना जस्ता विषयमा विस्तृत प्रश्नहरू उठाएका थिए। उठाइएका प्रश्नहरूको जवाफ संघकी अध्यक्ष, निवर्तमान अध्यक्ष तथा संरक्षकहरूले क्रमशः दिएका थिए ।
हाल दक्षिण कोरियाको नेपाली समाजमा एनआरएनए एकताको विषयलाई लिएर चलिरहेको पेचिलो बहसबीच राय संकलन गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा अधिकांश सहभागीहरूले एनआरएनए फुटको विरोधमा मत व्यक्त गरेका थिए । संघकी अध्यक्ष पार्वती मोक्तानको अध्यक्षता तथा दक्षिण कोरियाका लागि नेपाली राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कोरियामा सक्रिय अधिकांश नेपाली संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ ।





























