हेटौंडा / दलित महिला संघ ९फेडो० मकवानपुरले जिल्लाका चार स्थानीय तहमा क्रियाशील ३० वटा दलित महिला समूहलाई उद्यमशीलता विकासका लागि बीउँ पूँजी वितरण गरेको छ ।

गुरुवबार जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका, बकैया, भीमफेदी र मनहरी गाउँपालिकाका महिला समूहलाई २५–६० हजार रुपैयाँसम्मको बीउँ पूँजी हस्तान्तरण गरिएको हो । फेडोका अनुसार हेटौंडाबाट २० समूह, बकैयाबाट ८ समूह तथा भीमफेदी र मनहरीबाट एक–एक समूहले पूँजी प्राप्त गरेका छन् । उद्यम प्रवद्र्धन कार्यसूची अन्तर्गत ६० हजार र अनुदान मिलन कोषमार्फत २५ हजार रुपैयाँ सहयोग पुर्याइएको सचिव विमला विश्वकर्माले बताउनुभयो । उहाँले प्रत्येक समूहका महिलालाई बीउँ पूँजी वितरण गर्नु अघिसम्म आवश्यक सीप, व्यवसाय योजना र समूह व्यवस्थापन सम्बन्धी तालिम दिइएको जानकारी दिनुभयो ।
आत्मनिर्भरतातर्फ दलित महिलाको यात्रा
फेडोले दलित महिलालाई छोटो तथा मध्यम स्तरका व्यवसायमा संलग्न गराउँदै आर्थिक क्षमतामा वृद्धि ल्याउने उद्देश्यले यो योजना लगातार तीन वर्षदेखि सञ्चालन गर्दै आएको छ। कार्यक्रममा सहभागी महिलाहरूले फेडोको परियोजनाले आफूहरूलाई उद्यमको ज्ञान, सीप विकास र काम सुरु गर्ने आत्मविश्वास दिएको प्रतिक्रिया दिएका छन् ।
बिना ब्याज ६ महिनासम्म प्रयोग
फेडोका अनुसार उपलब्ध गराइएको बीउँ पूँजी छ महिनासम्म बिना ब्याज प्रयोग गर्न पाइन्छ। हालसम्म ४६ महिलाले यो योजनाबाट लाभ उठाएर सफल उद्यमी बनेका छन् ।
परियोजनाको पहिलो वर्ष १० समूहलाई ४२ हजार र दोस्रो वर्ष १० समूहलाई ३५ हजार रुपैयाँ पुर्याइएको थियो । समूहको सिफारिसमा सदस्यलाई रिफन्डेबल कोष स्वरूप बीउँ पूँजी दिइन्छ। एक महिनाभित्र व्यवसाय सुरु गर्नुपर्ने र ६ महिनाभित्र समूहलाई पूँजी फिर्ता बुझाउनुपर्ने व्यवस्था छ। समयमै काम अघि नबढे फेडोले रकम फिर्ता लैजाने नियम लागू गर्दै आएको छ । कार्यक्रम नेपालमा दलित महिला तथा किशोरीहरूको मानव अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत फाउण्डेशन फर जस्ट सोसाइटीको सहयोगमा सञ्चालित छ ।





























