सिद्धान्तको अतिशय दबाबले सिर्जना कुण्ठित हुन्छ – विष्णु भण्डारी

Advertisement

(१) पढ, फेरि पनि पढ

विधासिद्धान्त पढेर लेखक भइँदैन भन्ने मत छ मेरो । म पनि विधासिद्धान्त पढेर लेखक भएको हैन । मैले विधासिद्धान्त धेरैपछि पढेको हुँ, जतिखेर म कविमा दरिइसकेको थिएँ । यसको अर्थ म जन्मजात कवि गुण लिएर आएको थिएँ भन्न खोजेको हैन । म त कविता पढेर कवि भएको मान्छे हुँ ।

यस्तो कुराले म अराजक ठहरिन सक्छु । कतिपयले यति पढेपछि नाक खुम्च्याउने छन् । विधासिद्धान्तलाई नै लेखन र अध्ययनको मूल आधार मान्नेहरूका लागि यस्ता कुराले गम्भीर बनाउनु स्वभाविकै हो । उनलाई लाग्नसक्छ यो सबै उत्तरआधुनिकतावादी विभ्रम हो । उत्तरसंरचनावादी वा यस्तैयस्तै ।

अहिले म आख्यानको जुन ठाउँमा उभिएको छु यो मेरो आख्यानप्रतिको वर्षौंको साधनाले निर्माण गरेको चौतारी हो । सयौँ उपन्यास र कथाकृति पढेर आख्यानमा हात हालेको हुँ । यसको अर्थ आख्यान पढ्नेजति सबै लेखक हुन्छन् भन्न खोजेको हैन । कुरा सफा छ, लेखनका लागि अध्ययन अनिवार्य सर्त हो ।

मेरो दृष्टिमा लेखनको कुनै विधिशास्त्र छैन, जसले ठ्याक्कै यसरी लेखिन्छ भनेर सिकाओस । न त्यहाँ कुनै नियम र सूत्र छ जसले विजगणितमा जस्तै समस्याको हल गरोस् । यो त भावनात्मक कुरो हो । संवेदनाको कुरो हो । तसर्थ म साहित्य यसरी लेखिन्छ भनेर विधासिद्धान्तको नियम बताउने पक्षमा छैन ।

हुन त मानिसमा जे क्षमता छ त्यही बन्ने हो । प्रकृतिले हरेक मानिसलाई केही न केही प्रतिभा दिएको हुन्छ । उसले आफूभित्रको प्रतिभालाई चिन्न सके सफल हुन्छ, नसके असफल । यसको अर्थ प्रतिभा हुँदैमा ऊ सफल हुन्छ भन्ने हैन । आफूभित्र सुशुप्त अवस्थामा रहेको प्रतिभालाई प्रस्फुरण हुनका लागि पनि वातावरण चाहिन्छ । प्रतिभाको विकासमा मानिसको रुचि, उसको साधना, पारिवारिक अवस्था, सामाजिक सम्बन्ध र अध्ययनले महङ्खवपूर्ण भूमिका खेलेको हुन्छ ।

किशोरावस्थामा अरूको देखासिकीले खास विधाप्रति आकर्षण बढ्छ । यो उमेरमा कसैले राम्रो गीत गाए गायक बन्ने, राम्रो कविता लेखे कवि बन्ने र राम्रो अभिनय गरे कलाकार बन्ने चाहना जागृत हुन्छ । नेता, अभिनेता वा कलाकार बन्ने चाहना अरूको प्रतिभाबाट अभिप्रेरित भएरै गर्ने हो । प्रायः धेरैजसो स्थापित लेखक, कलाकार यस्तै अनन्त इच्छा, चाहना र अरूजस्तै बन्ने हुटहुटी पार गरेर आएका हुन्छन् ।

किशोर उमेर कपी उमेर हो भन्दा फरक नपर्ला । पढेका, सुनेका र देखेका कुराले सबैभन्दा बढी प्रभाव यही उमेरमा पार्छन् । किशोरवयको अति जिज्ञासु र संवेदनशील चरित्रले मन परेको कुरा लतका रूपमा अङ्गिकार गर्छ । किशोरसँग छनोटको अधिकार र अध्ययनको वातावरण भएमा उक्त विधा जीवनको रोजाइ बन्छ । ज्ञानका ढोकाहरू जति खुल्दै जान्छन् विधाप्रतिको अभिरुचि बढ्दै जान्छ । सुरुमा अग्रजले लेखेजस्तै, गाएजस्तै र नाचेजस्तै गर्नेहरू अब आफै गाउन थाल्छन् । आफै लेख्न र नाच्न थाल्छन् । विधाप्रतिको यही प्यासनले, अरूभन्दा राम्रो बन्ने आवेगले उनीहरू त्यही विधालाई जीवनको अहम उपलब्धि बनाउन पुग्छन् ।

सुरुमा अरूबाट प्रभावित किशोरले अध्ययनको विस्तारसँगै आफू पनि महान् लेखक बन्छु भन्ने सपना देख्न थाल्छ । ऊभित्र अरू सुन्दर र अरू धेरै लेख्ने हुटहुटी जाग्दै जान्छ । उसले लेख्छ र फेरि पढ्छ । उसले पढ्छ र फेरि लेख्छ । उसले सुन्दर कृति पढ्ने गति जति बढाउँदै लग्छ सुन्दरताको परख गर्ने चेतना पनि बढ्दै जान्छ ।

किशोरवयमा आफूले पढेको सामान्य कृति पनि सुन्दर लाग्छ । कृतिको कथा, पात्रले भोगेका कठिनाइ र सौन्दर्यात्मक अनुभूतिका कारण ऊ रन्थनिन्छ । उसलाई यस्तै कथा मैले पनि लेख्न पाए हुन्थ्यो भन्ने लाग्छ । तर, समयक्रममा पहिले अब्बल लागेका कृतिहरू विस्तारै कमजोर लाग्न थाल्छन् । आफ्ना रचना र पढेका सिर्जनाबिचमा ठूलो खाडल छ भन्ने कुरा बोध हुन थाल्छ । ऊ निराश हुन्छ र फेरि पढ्छ । निरन्तरको पढाइ र लेखाइले उसको कलात्मक क्षमतामा अरू निखार आउँछ । ऊ अरू सुन्दर, अरू कलात्मक र अरू विशिष्ट सिर्जनाको खोजमा भौँतारिन थाल्छ ।

सुन्दरताको मूल्य ठाउँ, परिवेश, अध्ययन, शिक्षा, सामाजिक सम्बन्ध र सामाजिक चेतनाका आधारमा निर्माण हुने हो । दूरदराजमा बसेको सामान्य पाठकलाई औसत सिर्जना पनि सुन्दर लाग्छ । त्यसको तुलनामा विकसित भाषाका उत्कृष्ट साहित्यसँग परिचित पाठकलाई त्यस्ता रचनाहरू सामान्य लाग्न सक्छन् । सुरुमा म पनि गुलबकावलीको कथाले अति प्रभावित भएको थिएँ । समयक्रममा म पनि त्योभन्दा खँदिला र सुन्दर कृतिको खोजमा लागेँ । साहित्यकार हुन खोज्ने साथीहरूलाई म धेरैभन्दा धेरै पढ्न र त्यसमाथि लेखिएका समालोचना अध्ययन गर्न सल्लाह दिन्छु ।

मैले भिन्नभिन्न शैली र विचारका रचना नपढेको भए विधा सिद्धान्तले मात्र मलाई यो ठाउँमा ल्याउने थिएन । चेर्नोसेब्स्कीको ‘क्या करेँ’ र तोल्स्तोयको ‘आन्ना क्यारेनिना’ नपढेको भए विधासिद्धान्तका आधारमा मात्र प्रेममा अन्तर्निहित समर्पण र स्वतन्त्रताको महत् तथ्यलाई साहित्यमा कसरी देखाउन सकिन्छ भन्ने कुरा बुझ्न सक्ने थिइनँ । म्याक्सिम गोर्कीको ‘आमा’ र फ्योदर दोस्तोब्स्कीको ‘अपराध और दण्ड’ नपढेको भए चरित्रको विकास कसरी गर्नुपर्छ भन्ने महङ्खवपूर्ण पक्ष बुझ्न मलाई धेरै समय लाग्ने थियो । यो सबै बुझ्नका लागि पढ्नु नै सबैभन्दा उत्तम विकल्प हो ।

(२) विधासिद्धान्तको खोज प्रभावकारीताको यात्रा हो ।

साहित्यिक बजारमा विधासिद्धान्तबारे प्रायः बहस भइनै रहन्छ । साहित्यिक प्रशिक्षण, विश्वविद्यालय र साहित्यिक कार्यक्रममा समालोचकहरू विधासिद्धान्तमा जोड दिन्छन् । उनीहरूको भनाइ सुन्दा यस्तो लाग्छ कि विधासिद्धान्तविना रचना सिर्जना गर्न खोज्नु असम्भव कुरो हो । तर के विधासिद्धान्तविना साहित्य सिर्जना गर्न सकिदैन ?

विधासिद्धान्त साहित्यका विधाहरूको सिद्धान्त हो । साहित्य सिद्धान्तले समग्र साहित्यको अध्ययन गर्छ भने विधासिद्धान्तले एउटा विधाभित्र रहेर त्यसको साङ्गोपाङ्गो अध्ययन गर्छ । कुनै पनि विधाका रचनाको अन्तर्वस्तु, संरचना र रूप पक्षसित यसको सम्बन्ध हुन्छ । यसको अर्थ विधासिद्धान्त यतिमै सीमित रहन्छ भन्ने हैन । साहित्यकार डा. ऋषिराज बराल विधासिद्धान्तको प्रश्न केवल काव्यशास्त्रको प्रश्न मात्र नभएर सौन्दर्यशास्त्रको प्रश्न पनि हो भन्छन् । उनी लेख्छन्, ‘विधासिद्धान्त कालक्रमिक स्थिति, उत्पादन इतिहास, समाज, लेखक तथा पाठकको सौन्दर्य चाहना, सौन्दर्यात्मक आवश्यकता र सौन्दर्य बोधात्मक स्थितिसित पनि गाँसिएको प्रश्न हो ।’ (बराल : २०६३ : १०३)

विधासिद्धान्तले सिर्जनाको संरचनात्मक पक्षका विभिन्न पाटापक्षको व्याख्या विश्लेषण गर्छ । विधाको चरित्रका आधारमा भाषा, शैली, संवाद, नाटकीयता, आख्यानात्मकताको प्रयोग कसरी हुन्छ भनेर सिकाउने काम विधासिद्धान्तले गर्छ । बिम्ब विधान, प्रतीक र अलङ्कारको प्रयोगदेखि कल्पना, जादू र यसको सामाजिक र राजनीतिक पक्षको समेत विहङ्गम व्याख्या गर्छ । कविताको विधासिद्धान्तले कवितामा प्रयोग हुने भाषाको स्वरूप, विचलन र बिम्ब र अलङ्कारको प्रयोगबारे जानकारी दिन्छ । के भए कविता हुन्छ र के नभए कविता हुन्न भन्ने ज्ञान पनि विधा सिद्धान्तले दिन्छ ।

विधासिद्धान्त आलोचनात्मक दृष्टि हो । यसले सिर्जनालाई आलोचनात्मक आँखाले हेर्न सिकाउँछ । यसरी लेखे सुन्दर कविता बन्छ भन्ने तरीका बताउँछ । सिर्जना र सर्जकमा विचार र दृष्टिकोणको महङ्खव कस्तो हुन्छ ? दृष्टिकोणहीन लेखकको सिर्जना कलात्मक हुँदाहुँदै पनि कसरी प्लास्टिकको फूलजस्तो प्राणहीन हुन्छ ? यो सबै विधासिद्धान्त पढेर थाहा पाउन सकिने कुरा हुन् ।

विधासिद्धान्तले सिकाउने अर्को कुरो हो विधाको ऐतिहासिकता । विधाको विगत र वर्तमानको संरचना र यसमा प्रयोग भएको शैलीबारे विधासिद्धान्तले नै जानकारी दिन्छ । कतिपय कवि लेखकहरू पहिले नै लेखिएका वा व्यापक प्रयोगमा आएका विषय र शैलीलाई हुबहु प्रयोगमा ल्याउँछन् । कतिले विधाको अन्तरसम्बन्ध, बुनोट र बनोटका कतिपय पक्षलाई बुझ्न नसक्दा रचनालाई सशक्त बनाउन सक्दैनन् ।

हामीलाई कुनै रचना सुन्दर लाग्नुका दुई कारण हुन्छन्, एउटा संरचना र अर्को विषय । सुन्दर विषयमा लेखिएको कविताको संरचना पनि कलात्मक भयो भने पढ्न आनन्द आउँछ । हामी पनि त्यस्तै सुन्दर कविता लेख्न खोज्छौँ । लेख्छौँ पनि । तर विधासिद्धान्त नबुझेको लेखकले रचना सुन्दर हुनुका पछाडिको ऐतिहासिक र समकालीन कारणहरू बुझ्न सक्दैन । सिर्जनामा संरचनात्मक र कलात्मक एकत्वको निर्माण कसरी भएको छ छुट्याउन सक्दैन ।

विधासिद्धान्तले पनि सिर्जनाकै आधारमा संरचना, कलापक्ष र अन्तर्वस्तुमा बहस गर्ने हो । यो रचना यसकारण सुन्दर छ अथवा यो रचना विचार र कलाका दृष्टिले यसकारण सुन्दर नमूना हो भन्ने काम रचनाकै आधारमा गर्ने हो । विधासिद्धान्तले पनि सिर्जनाकै जगमा उभिएर सिद्धान्त बनाउने हो । कतिपय सामालोचकहरू सिर्जनाका लागि सिद्धान्त नै पहिलो सर्त हो भन्छन् । त्यसो किन हुन्थ्यो र ! पहिलो सर्त त सिर्जना नै हो । भावना र कल्पना नै हो ।

विधासिद्धान्त जड या यान्त्रिक नभएर परिवर्तनशील र गतिशील हुन्छ । हुनुपर्छ । जति धेरै सुन्दर रचना आउँछन्, जति धेरै प्रयोगशील र नवीन शैलीका सिर्जना आउँछन् त्यति नै छिटो विधासद्धान्तमा परिवर्तन हुन्छ ।

सौन्दर्य चिन्तन र यसका मूल्यहरूको निरुपण कुनै व्यक्तिले गर्ने हैन । जति नै प्रतिभाशाली भए पनि देवकोटाले आधुनिक कविता र उपन्यासमा काम गर्न नसक्नुको कारण उनीभित्र रहेको पुरातन विचार हो । समाजसँग अन्तक्रियाको कमी र नवीन भावधारालाई प्रष्ट रूपमा स्वीकार गर्न नसक्नु हो । त्यतिखेरको समय र समाज पनि त्यस्तै पुरातन र जर्जर थियो । उनले त्यसलाई भत्काउन सकेको भए, उनीभित्र भएको विद्वता र कल्पनाशीलतालाई नयाँ यथार्थसँग जोडेर लग्न सकेको भए, उनले आधुनिक रचना दिन सक्थे । विडम्बना ! अपार सम्भावना हुँदाहुँदै पनि उनले शास्त्रीयता र स्वच्छन्दतावादलाई मिसमास गरेर खिचडी साहित्य सिर्जना गर्नमै समय खर्चिए ।

सिर्जना होस् कि सिद्धान्त सबै समाज विकासको क्रममा देखापर्ने अन्तरविरोधका उपज हुन् । समाजमा विकसित हुने उत्पादन सम्बन्धका आधारमा रुचि, सम्बन्ध र संस्कृतिमा परिवर्तन देखिने हो । पुरातन उत्पादन सम्बन्ध र विकसित नवीन यथार्थका बिचमा हुने अन्तरविरोधले कलाको नयाँ शैली र विधाको जन्म हुने हो । उपन्यास यसैको प्राप्ति हो । आधुनिक कविता पुँजीवादी उत्पादनकै परिणाम हो । सौन्दर्यमूल्य र सौन्दर्य अनुभूतिमा देखिने परिवर्तन पनि समाज विकासकै प्रक्रियाको उपज हो । नेपाली साहित्यमै पनि केही दशक पहिले र अहिलेका विषय, संरचना र शैलीमा भिन्नता आउनुको मुख्य कारण समाज परिवर्तन नै हो ।

विधासिद्धान्त निरपेक्ष, तटस्थ र स्वतन्त्र रहन सक्दैन । सिर्जनाजस्तै विधासिद्धान्त पनि समयसापेक्ष र परिवर्तनशील हुन्छ । समयसँगै सौन्दर्यशास्त्रीय मूल्य, रुचि, चिन्तन र सोचमा परिवर्तन हुँदै जानु स्वभाविकै हो । अहिलेको युवाले किन छन्दमा लेखिने कविता रुचाउँदैनन् ? र, किन अहिले पनि केही कविहरू छन्द बचाऊ अभियानमा सक्रिय छन् ? यस्ता प्रश्नहरूको हल पनि सामाजिक सम्बन्धकै आधारमा खोज्नु पर्छ ।

अहिले पनि खण्डकाव्य र महाकाव्य लेख्न कहाँ छोडिएको  छ र ! प्रगति र अग्रगमनसँगै पुराना रुढी, संरचना र संस्कारसंस्कृति पनि पछिपछि आउँछन् । यसको समग्र अध्ययन र जानकारी रचनासिर्जनाबाटै थाहा हुने हो । कम्तीमा तीन दशकका एउटै विधाका रचना सँगै राखेर पढियो भने संरचना र शैलीगत प्रयोगमा कसरी परिवर्तन हुँदै आएको रहेछ बुझ्न सकिन्छ । यसको जानकारी दिने काम विधा सिद्धान्तको हो । यसैका आधारमा नयाँ पुस्ताले नयाँ कुरा सिक्ने हो । यो इतिहासको सृङ्खला हो । सिर्जनाको समालोचना र नयाँ दिशाबोध हो ।

(३) सर्जकले सिद्धान्त पढेर सिर्जना गर्दैन

लेखनकलाको विकाससँगसँगै लेखक सैद्धान्तिक अवधारणा, विचार र दृष्टिकोणको खोजीमा लाग्छ । बाल्यकालमा साथीहरूसँग चौरीमा क्रिकेट खेल्ने सामान्य बालक स्तरीय क्रिकेटर बनुँला भनेर खेलेको हुन्न । खेल्दै जाँदा ऊ सोमपाल कामी पनि हुनसक्छ । प्रशीक्षणले सोमपाल कामीलाई क्रिकेटका नियमबारे जानकारी दिन्छ । तर बलिङ गर्ने कला त सोमपालको आफ्नै सिर्जना हो । विधा सिद्धान्तले हिँड्दा आउने अफस्ट्याकल र त्यसबाट बच्नेबारे प्रशिक्षित गर्ने हो । हिँड्ने त स्वयम् पात्रले हो ।

खास विधामा प्रतिभा नभएको मानिसले जति नै बल गरेपनि सफल हुन कठिन हुन्छ । मैले विद्यालयमा पढ्दा भलिवल सिक्न अति नै बल गरेँ । पढाइ र साहित्यमै घोत्लिने मलाई  फुर्सद भयो कि साथीहरूले खेल्न प्रोत्साहित गर्थे । सिकाउँथे । तर पनि मैले सकिनँ ।

गाउँमा प्रत्येक वर्ष विद्यालयको स्थापना दिवसको सन्दर्भ पारेर सांस्कृतिक कार्यक्रम हुन्थ्यो । त्यहाँ गीतसंगीतसँगै नाटक पनि देखाइन्थ्यो । सयौँको संख्यामा उपस्थित गाउँले, विद्यार्थी र शिक्षकहरूका बिच नाटक खेलेर आफ्नो कला देखाउनु सामान्य कुरो पनि थिएन । सिँगारिएर पेट्रोमेक्सको उज्यालोमा एक्टिङ गर्नु, नाच्नु र गाउनु तिनताक ठूलै कुरो मानिन्थ्यो ।

साथीहरू रोएको, हाँसेको र मुख बिगारी बिगारी बोलेको देखेर म पनि नाटकप्रति आकर्षित भएँ । तर धेरै पटक प्रयत्न गर्दा पनि मैले एक्टिङ गर्न सकिनँ । नाटकमा चाहिने हाँस्यव्यङ्ग्य र क्यारिकेचर मजस्तो अन्तरमूखी स्वभावको मानिसले कसरी गर्नु र ! मैले कमिक खेल्ने रहरलाई मार्नु प¥यो ।

मेरो अनुभवले बताउँछ मान्छेले जुन विधामा आफ्नो प्रतिभा छ त्यही विधा छान्न सक्यो भने ऊ सफल हुन्छ । हिँड्न त सबै हिँड्छन् नि ! तर हिँडेजतिका सबै बैकुण्ठ मानन्धर कहाँ हुन्छन् र ! बैकुण्ठ मानन्धर दौडको विधासिद्धान्त पढेर धावक भएका हैनन् ।

कविता र निबन्ध लेख्न, हाजिर जवाफ र अन्ताक्षरी गर्न भने कसैले सिकाउनु परेन मलाई । म अरूको क्षमता देखेर लोभिन्थेँ अरू मेरो क्षमता देखेर लोभिन्थेँ । कक्षा सातमा प्रेम भण्डारी सरले कवि र कवितामाथि व्याख्यान नदिएको भए, चारकक्षा पढ्दै कविता कृति पढ्न नपाएको भए र विद्यालयमा प्रत्येक हप्ता साहित्यिक कार्यक्रम नभएको भए सायद म यस विधामा आउने पनि थिइनँ ।

मेरो अनुभवले बताउँछ मान्छेले जुन विधामा आफ्नो प्रतिभा छ त्यही विधा छान्न सक्यो भने ऊ सफल हुन्छ । हिँड्न त सबै हिँड्छन् नि ! तर हिँडेजतिका सबै बैकुण्ठ मानन्धर कहाँ हुन्छन् र ! बैकुण्ठ मानन्धर दौडको विधासिद्धान्त पढेर धावक भएका हैनन् ।

कलात्मक श्रेष्ठताविना साहित्यमा सफल हुन गाह्रो हुन्छ । विधासिद्धान्त पढेजतिका सबै  महान् सर्जक हुनेभए समालोचकहरू सबै सर्जकमा दरिने थिए । प्रायः समालोचकहरू सिर्जनकार्यमा असफल भएपछि समालोचनामा आएको देखिन्छ । सर्जक बन्ने मन कसलाई हुन्न र ! तर चाहेर मात्र पनि सर्जक हुन सकिन्न ।

समालोचना अलि जड र सुष्क कार्य हो भने सिर्जना भावनात्मक काम हो । समालोचनामा हृदयको खासै भूमिका हुन्न । सिर्जना हृदय र भावनासँग जोडिएर आउँछ । सिद्धान्तले सलल बगेको खोलोमा बाँध बाँध्ने काम गर्ने हो । सिर्जना त बग्ने हो बगिरहन्छ । जसरी आफ्नो ट्रयाक छोडेको नदीको बहावलाई बाँधले सही बाटोमा ल्याउँछ त्यस्तै हो सिद्धान्त ।

कतिपयलाई लाग्छ मेरो सिर्जना उत्कृष्ट छ । सूचना र प्रविधि उत्कर्षमा पुगेको वर्तमानामा मिडियाको बाढी उर्लिएको छ । यस्तो बेला रचना प्रकाशित गर्न कुनै शनिबार पर्खिनु पर्दैन । त्यसमा पनि सामाजिक सन्जाल छँदैछ । लेख्यो पोष्ट ग¥यो । केही सयको लाइक र कमेन्ट आइ नै हाल्छ । त्यति भएपछि कविलेखकलाई के नै चाहियो र ! उसलाई लाग्छ, उसको रचना कमेन्टमा ‘वाह !’ ‘क्या सुन्दर !’ भनेजस्तै सुन्दर छ । यो सबै केको न्यानो भनेजस्तै हो । रचनासिर्जना त्यति सहज काम हैन । त्यसमा पनि उत्कष्ट रचना सिर्जना गर्ने भनेको झनै कठिन काम हो ।

जुन रचनाले मानिसको मन मतिष्कलाई छुँदैन, जुन रचनाले हजारौँ मानिसको अन्तरहृदयलाई झकझोर गर्दैन त्यो रचना न आज सार्थक हुन्छ न भोलि । हिन्दी साहित्यका लेखक प्रेमचन्द सिर्जना उच्चकोटीको बनाउनका लागि साहित्यकारमा अनुभूतिको तीब्रता हुनुपर्छ भन्छन् । उनी सुन्दर रचनाका लागि विधासिद्धान्तलाई भन्दा अनुभूति, अनुभव र कविको आन्तरिक भावनामा जोड दिन्छन् । उनी लेख्छन्, ‘कवि या साहित्यकारमा अनुभूतिको जति धेरै तीब्रता हुन्छ उसको रचना उति आकर्षक र उच्च कोटीको हुन्छ । जुन साहित्यले हाम्रो रुचि जगाउँदैन आध्यात्मिक र मानसिक तृप्ति मिल्दैन, हामीभित्र गति र शक्ति पैदा हुँदैन, हाम्रो सौन्दर्य प्रेम जागृत हुँदैन, जसले हामीमा सच्चा संकल्प र कठिनाइमाथि विजय पाउन साँचो दृढता उत्पन्न गर्दैन ऊ आज हाम्रो लागि बेकार हुन्छ, उसलाई साहित्य भन्ने अधिकार हुन्न ।’ (प्रेमचन्द : २०१३ : ६)

कला सिर्जना निरन्तरतामा क्रमभङ्गता हो । एउटै गोहोमा हिँडेको परिवार, छरछिमेक र गाउँसमाजप्रतिको विद्रोहा हो । यस्तो विद्राह जुन शालीन र भव्य हुन्छ । अरूभन्दा फरक, अरूभन्दा भिन्न र अनन्त सिर्जनात्मक सहितको विद्रोह । एउटा सामान्य बालकको दिलदिमागमा सिर्जना हुने भिन्न अभिरुचि, फरक धार र फरक सोचले ऊ कलाप्रति आकर्षित हुन्छ । उसले आफूलाई व्यक्त गर्न, अरूभन्दा फरक देखिन र प्रश्न गर्न कलाको सहारा लिन्छ । एउटा बालक÷किशोरलाई किन र कसरी कलासाहित्यले प्रभावित गर्छ यो त अध्ययनको छुट्टै पाटो हो । तर यतिसम्म भन्न सकिन्छ ऊ सिद्धान्त पढेर कलाप्रति आकर्षित भने भएको हुन्न । उसको आन्तरिक मनोदशा, अन्तर्मुखी स्वभाव, परिवार र समाजप्रतिको भिन्न सोच र असन्तुष्टिले ऊ फरक बाटोको खोजीमा हुन्छ ।

कलाप्रतिको अभिरुचि भावुक मनोदशा र संवेदनशील स्वभावको प्रतिफल हो । किशोर वयमा अनन्त रहर, चाहना र सपनाहरू जन्मिने र हराउने भइनै रहन्छन् । अरूभन्दा फरक हुने र अरूले भन्दा राम्रो गर्ने भावना प्रायः प्रतिभाशाली बालकमा सिर्जना हुन्छ । साथै परिवार, गुरु र समाजबाट स्यावासी पाउने लालसाले पनि उसले नयाँ गर्न खोज्छ । यो विशुद्ध रहर हो । बालमनोविज्ञानले देखेको रहर । यही रहले ऊ कला सिर्जनामा लाग्छ ।

रहर जब सपनामा परिणत हुन्छ ऊ अझ सुन्दर कृतिको रचना कसरी गर्न सकिन्छ भनेर अघि बढ्छ । यही क्रममा उसले राम्राराम्रा कृति र विधा सिद्धान्त पढ्न थाल्छ । एउटा लेखक जतिसुकै समालोचना पढेपनि उसमा कला सिर्जना गर्न आवश्यक पर्ने अनुभूति, कल्पनाशीलता, व्यग्रता र पागलपन छैन भने सुन्दर रचना सिर्जना गर्न सक्दैन ।

भावुक र कल्पनाशील मानिसमा अनेक कुराले प्रभावित गर्छ । यस्तो मानिसले अरूले दुर्वाच्य बोल्यो भने पनि सहन सक्दैन । सायद लेखनाथ पौडेललाई उनको काकाले नहक्लाएका भए उनमा कवि बन्ने इगो सिर्जना हुने थिएन । प्रेममा असफलता, जीवन र समाजप्रतिको असन्तुष्टि र समाज र जीवनलाई हेर्ने फरक धारणाका कारण पनि भावुक हृदयको मानिस कलासाधनामा लाग्छ । आफ्ना असन्तुष्टि, असफलता र सपनाहरू कलामार्फत व्यक्त गर्न पनि मानिसले अलग बाटो रोज्छ ।

विधासिद्धान्त विधाको संरचना बुझ्न आवश्यक हुन्छ । सुन्दर रचना बन्नका लागि चाहिने तङ्खव र तिनको प्रयोगका सम्बन्धमा सिद्धान्त आवश्यक हुन्छ । विचार, राजनीति र सामाजिक मुद्धालाई कलामा कसरी व्यक्त गर्ने ? कस्तो लेखन सिर्जना नभएर नारा हुन्छ ? कस्तो सिर्जना उत्कृष्ट हुन्छ ? यी सबै कुराको अध्ययन विधासिद्धान्तले गर्छ । तर विधासिद्धान्तको सुष्क र जर्जर नियममा बाँधिएर रचना गर्न थालियो भने रचना पनि सिद्धान्त बन्न थाल्छ । जड हुन जान्छ । रचनालाई कसरी सुन्दर बनाउने भन्ने काम लेखकको प्रयोग र रचनाशिल्पमा भर पर्ने कुरा हो । लेखकको भावना र संवेदनाको कुरो हो ।

बर्तोल्ट ब्रेख्तले यथार्थवादी लेखकले सिर्जनामा केकस्ता विषय, यथार्थ र मुद्धालाई उठाउनु पर्छ भन्दै ‘लोकप्रिय र यथार्थवादी’ लेखमा लामो फेहरिस्ता दिएका छन् । साथै यस्तो सिर्जनकार्य कसरी गर्ने भन्नेबारे पनि उनले प्रष्ट पारेका छन् । उनले सामाजिक यथार्थलाई कसरी व्यक्त गर्ने भन्ने लेखकको मौलिकता र कल्पनशीलताको कुरो हो, त्यहाँ बाह्य दबाव र नियमसिद्धान्तको कुनै आवश्यकता हुँदैन भन्छन् । उनी लेख्छन्, ‘हामीले यसलाई क्रियान्वयन गर्नका लागि कलाकारलाई आफ्नो कल्पना, आफ्ना सबै मौलिकताहरू, उसका हास्यभावनालाई उपयोग गर्न र अन्वेषण गर्न छुट दिन्छौँ । हामी विस्तृत सहित्यिक मोडेलहरूमा बाँधिदैनौँ वा कथा हाल्नका लागि सङ्कीर्ण नियमहरूको पालना गर्न कलाकारलाई बाध्य गर्दैनौँ । (ब्रेख्त : २०६७ : २२२)

विश्वविद्यालयका ‘मास्टरसावहरू’ सिर्जनामा नियमको कुरा गर्छन् । किनभने उनले नियम पढाउँछन् । तर म नियम र सिद्धान्तले कविता जन्माउछ भन्ने मान्यता अस्वीकार गर्छु । जसको अन्तरहृदयमा भावनाको अतुल गहिराई र संवेदनाको विपुल सागर हुँदैन उसले कविता लेख्न सक्दैन । मायोकोव्स्की कवि हुँदाहुँदै पनि, त्यो पनि समाजवादी कवि भएर पनि नियम र सिद्धान्तले कविता जन्माउँदैन भन्छन् । हाम्रा समालोचकहरू, त्यसमा पनि प्रगतिवादीहरू नियम र सिद्धान्तलाई भत्काउनु पर्छ भन्नेहरू उत्तरआधुनिक र अराजक हुन भन्ने आरोप लगाउँछन् । नियम र सिद्धान्तलाई सिर्जनाको सहयोगी बनाउनुको सट्टा यही नै सिर्जनाको प्रमुख आधार हो भन्छन् ।

मायोकोव्स्की ‘म छन्दशास्त्रीको रूपमा हैन कि एक व्यावहारिक कर्मीको हैसियतद्वारा आफ्नो कामको बारेमा लेख्न चाहन्छु’ भन्छन् । उनी पुराना नियम, छन्द र तुकवन्दीको विरोध गर्छन् । उनी लेख्छन्, ‘म एक पटक फेरि जोड दिएर भन्न चाहन्छु कि म त्यस्तो नियम बताउन गइरहेको छैन जसले मान्छे कवि बन्न सक्छ र कविता लेख्न सक्छ । सामान्यतः यस्तो नियम छँदै छैन । त्यही मान्छे कवि कहलिन्छ जो काव्यात्मक नियमको निर्माण गर्छ ।’ (मायाकोव्स्की : २००६ : ११३)

समालोचक हुँदाहुँदै पनि यदुनाथ खनाल सिर्जनलाई बढी महङ्खव दिन्छन् । उनले स्पष्ट रूपमा नियम सिद्धान्तले सिर्जनकर्ममा बाधा पु¥याउँछ भन्छन् । उनले मौलिक कविहरू कहिल्यै पनि समालोचनाको पछि लाग्दैनन् बरु समालोचक नै राम्रा कविको पछि लाग्छन् भन्छन् । सिद्धान्तले सिर्जना नबनाएर सिर्जनाले सिद्धान्त बनाउने हो भन्छन् । नियममा बाँधिएर कुनै कविले उत्तम कविता लेख्न नसक्ने भन्दै शेक्सपियर र वर्ड्स्वर्थ नियम तोडेरै आएका हुन् भन्छन् । उनी लेख्छन्, ‘कविता अत्यन्त वैयक्तिक कुरा हो । यसकारण हामी न त एरिस्टोटलका नियमले बाँधिन सक्छौँ, न त साहित्य दर्पणका नियमले ।’ (खनाल : २०६८ : ५३)

सामाजिक विसंगति र राजनीतिक बेथितिलाई एउटा लेखक टुलुटुलु हेरेर बस्न सक्दैन । नातावाद, कृपावाद र भ्रष्टाचार तथा सामाजिक मूल्यहीनताले साहित्यकारको हृदयमा यस्तो संवेदना जागृत हुन्छ कि ऊ विह्वल हुन्छ । उसको भावुक हृदय शोषण, दमन र अन्याय अत्याचार देखेर आन्दोलित हुन्छ । जब ऊ आन्दोलित हुन्छ, विद्रोह, असहमति र विमतिलाई आधार बनाएर रचना सिर्जना गर्छ । ऊ एकलै चिच्याउँछ, रुन्छ र एकलै यात्रामा निस्किन्छ । सायद भावनाको यही अतिशय दबावले गर्दा नै होला रिमाल नाङ्गो खुकुरी बोकेर सडकमा निस्किएका । यस्तो बेला खास कविले नियम र सिद्धान्तलाई हैन मानवीय संवेदनालाई मात्र देख्छ । सपनाको मृत्यु हुँदै गएको मात्र देख्छ । मनभित्रको आगोले नियम, संगति र सिद्धान्तको माखेसाङ्लोलाई चुँडाउँछ । सिद्धान्तको जब्बर ढोकालाई भत्काउँछ र बनाउँछ सपनाको सुन्दर संसार ।

(४) त्यसो भए सिद्धान्त चाहिदैन त ?

सिर्जनाका आधारमा विधासिद्धान्त बनेको हो भन्ने त हामी सबैलाई थाहै छ । समाजको आवश्यकताले कला जन्मिएको हो न कि विधासिद्धान्त । विधासिद्धान्त त धेरैपछि, खै कतिखेर जन्मियो जन्मियो । कला भने सभ्यताको उषाकालमै जन्मिएको हो । कलालाई नियमन गर्ने र अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने हेतु विधासिद्धान्तमा हुन्छ । विधाहरूबिचको अन्तरसम्बन्ध र अन्तरविरोधलाई विधासिद्धान्तले अध्ययन गर्छ । लेखकले लेखेको रचना खास विधाभित्र प¥यो कि परेन, त्यसले खास विधाका संरचनात्मक अवधारणा र मान्यतालाई स्वीकार ग¥यो कि गरेन भनेर निक्र्योल गर्ने काम त्यसको हो ।

हाम्रा समालोचकहरू, त्यसमा पनि प्रगतिवादीहरू नियम र सिद्धान्तलाई भत्काउनु पर्छ भन्नेहरू उत्तरआधुनिक र अराजक हुन भन्ने आरोप लगाउँछन् । नियम र सिद्धान्तलाई सिर्जनाको सहयोगी बनाउनुको सट्टा यही नै सिर्जनाको प्रमुख आधार हो भन्छन् ।

समाज विकासको क्रममा मानिसका चिन्तन, दृष्टिकोण, कला, साहित्य र संस्कृतिमा पनि विकास हुन्छ । यसै क्रममा भाषाको पनि विकास हुने हो । मानव सभ्यताको उषाकालमा कविता मात्र अस्तित्वमा थियो । समय क्रममा नाटक, कथा, उपन्यास, निवन्ध लगायत धेरै विधाको जन्म र विकास भयो । त्यसपछि हो विधासिद्धान्त जन्मिएको ।

विधासिद्धान्तका लागि कृतिहरू होइन, कृतिहरूका लागि विधासिद्धान्तहरू हुन् भन्छन् समालोचक ऋषिराज बराल । विधासिद्धान्तको पालनाको नाममा गरिने रुढिग्रस्त आग्रह र निषेधका नाममा गरिने अराजकता दुबै गलत हुन् भन्छन् उनी । उनी लेख्छन्, ‘प्रस्ट छ विधासिद्धान्तप्रतिको दृष्टिकोण वैचारिक दृष्टिकोणबाट निर्देशित छ । विधासिद्धान्तको अनुशासनको पालनाको अर्थ शास्त्रीयतावाद र अभिजात्यवादको निर्वाहप्रतिको जोड होइन र कृतिलाई यान्त्रिक जडबद्धतामा सीमित राख्नु पनि होइन । विधासिद्धान्तको पालनाको नाममा कृतिलाई कृत्रिम र यान्त्रिक बनाउनु तथा विधासिद्धान्तको निषेधको नाममा कृतिलाई अराजकता र जडप्रयोगवादितामा पु¥याउनुु पनि ठीक देखिदैन ।’ (बराल : २०६३ : १०५)

ब्रर्तोल्ट ब्रेख्तले सिद्धान्तमा भन्दा सङ्घर्ष र श्रममा बढी जोड दिन्छन् । विधासिद्धान्त सिर्जनाको लागि भए पनि त्यस्ता नियममा झुन्डिनुको औचित्य देख्दैनन् ब्रेख्त । उनी लेख्छन्, ‘वास्तविक संसारलाई परिवर्तन गरिरहेको सङ्घर्षशील जनता हाम्रासामु रहुन्जेल कथा भन्नका लागि हामी ‘राम्ररी परीक्षण गरिएका’ नियमहरू, साहित्यिक इतिहासले प्रस्तुत गरेका मूल्यवान् मानिएका नमुनाहरू र शाश्वत सौन्दर्य सिद्धान्तहरूमा झुन्डिनुपर्ने अवाश्यकता छैन । (ब्रेख्त : २०६७ : २२१)

(५) सिर्जनाले सिद्धान्त बनाउने हो

कतिपय कृति र सिर्जना पढ्दा यसरी पनि लेख्न सकिने रहेछ भन्ने लाग्छ । हुन त हामीले पनि लेखिरहेकै हुन्छौँ । तर उस्तै संवेदना वा विषयमा एउटा सिर्जनशील र प्रयोगशील कविले लेखेको कविता र हाम्रो कविता किन फरक हुन्छ ? निश्चय पनि त्यहाँ एकरूपता र एकसरसतामा विचलन छ । निरन्तरतामा क्रमभङ्गता छ । मानिस न त पुरानो चीजमै रमाउन सक्छ न त फोटोकपीलाई कला हो भनेर चित्त बुझाउन सक्छ । मानिस मानिस भएको नयाँ खोजको परिणतीले हो ।

रसियन चिन्तक मिखाइल खापचेँले विधासिद्धान्तभन्दा सिर्जना प्रमुख हुन्छ भन्छन् । उनले सिद्धान्तले सिर्जना नबनाएर सिर्जनाले सिद्धान्त बनाउने हो भन्छन् । जतिसुकै प्रभावकारी भएपनि सिद्धान्त नयाँ सिर्जनासँगै परिवर्तन हुन्छ । जसरी सिर्जना परिवर्तनशील छ त्यसैगरी सिद्धान्त पनि परिवर्तनशील छ । खापचेँ भन्छन्, ‘प्रतिभाशाली लेखकहरूले कतिपय सन्दर्भमा विधासिद्धान्तको सोचाइमा परिवर्तन मात्र ल्याउँदैनन् अपितु नयाँ विधा सिद्धान्तको निर्माण पनि गराउँछन् ।’ (खापचेँ : १९८६ : ३१७)

सिर्जनाले सिद्धान्त बनाउने हो नकि सिद्धान्तले सिर्जना । लेखकले जान्नुपर्ने मुख्य कुरो ‘के भन्ने ?’ र ‘कसरी भन्ने ?’ भन्ने हो । सिद्धहस्त लेखकका सुन्दर कृति पढ्दा हामीलाई यो कुरा बोध हुन्छ । जुन बोध सिर्जना पढ्दा हुन्छ त्यही कुरा हामीले सिद्धान्तमा पाउँदैनौँ । व्यवहारिक ज्ञान प्राप्त हुन्छ सिर्जनामा । तर विधा सिद्धान्तमा प्राविधिक ज्ञान हुन्छ । कस्तो सिर्जनाले मानिसको अन्तरहृदयमा संवेदना जागृत गर्छ वा कस्तो सौन्दर्य चेतना जागृत गर्छ भन्ने कुरा विधासिद्धान्तले व्यक्त गर्न सक्दैन । कृतिको मूल्य र यसले समाजमा पारेको प्रभावको परख त गर्न सक्ला तर सुन्दरताको परख गर्न सक्दैन ।

(६) नयाँका लागि पुरानो भत्काऊ

कलासाहित्यका सबै विधा चेतनाप्रवाहका हतियार हुन् । समाज रूपान्तरणसँगै आर्थिक आधारमा हुने परिवर्तनले साहित्यिक विधामा परिवर्तन ल्याउँछ । आर्थिक परिवर्तनले कलासाहित्यमा मात्र नभएर अधिरचनाका सबै तहमा धेरथोर परिवर्तन ल्याउँछ । विस्तारै कलासाहित्य, राजनीति, नियमकानुन, शिक्षास्वास्थ्य र संस्कार संस्कृतिमा परिवर्तन देखिन थाल्छ ।

आर्थिक अवस्थाले मानिसको जीवनपद्दतिलाई निरूपण गर्छ भन्ने कुरो सिद्धान्तत सत्य हो । आर्थिक अवस्थामा हुने बढोत्तरीले मान्छेका जीवन बाँच्ने तौरतरीकाहरू बदलिन्छन् । लगाउने, खानेपिउने, घुम्ने र रमाइलो गर्ने पुराना रुचि र पुरातन ढर्राहरू भत्किन्छन् । आर्थिक र सामाजिक परिवर्तनसँगै सुन्दरतालाई परख गर्ने, बोध र अनुशीलन गर्ने क्षमता र दृष्टिकोणमा पनि परिवर्तन देखापर्छ ।

समाज परिवर्तनसँगै लेखकको सिर्जनकर्ममा पनि नयाँ चुनौतीहरू थपिन्छन् भन्छन् समालोचक ऋषिराज बाराल । उनको भनाइबाट पनि सिर्जनालाई नयाँ गर्ने कारकतङ्खव सिद्धान्त नभएर जीवन र समाज हो भन्ने पुष्टि हुन्छ । उनी लेख्छन्, ‘आर्थिक–राजनैतिक परिवर्तनले मान्छेका सौन्दर्य चाहना, सौन्दर्य रुचि, सौन्दर्य अवश्यकतामा परिवर्तन ल्याउँछन् । यसको फलस्वरूप पाठकको सौन्दर्य बोधात्मकता पनि प्रभावित हुन्छ । यस्तो अवस्थामा स्रष्टाका सामू नयाँ आवश्यकता र चुनौतीहरू देखा पर्दछन् भने पाठकले पनि नयाँ अन्तर्वस्तु र रूपको खोजी गर्नु नितान्त आवश्यक हुनजान्छ ।’ (बराल : २०६३ : ११६)

परिवर्तन र विकासको यो गति यति धीमा हुन्छ कि मानौँ राजनीतिक र आर्थिक परिवर्तन भएकै छैन । समाज पुरानै शैलीमा चलेको देखिन्छ । सोच्ने, खाने र बाँच्ने तरीकामा आमूल परिवर्तन नआएझैँ लाग्छ । बाहिरबाट हेर्दा समाज नदीको पानीजस्तो अचल देखिएपनि यो प्रक्रिया निरन्तर गतिमा प्रवाहित भएको हुन्छ ।

आर्थिक आधार र अधिरचनाबिचको सम्बन्ध जटिल र अन्योन्यास्रित हुन्छ । कहिलेकाहीँ आर्थिक प्रणाली र भौतिक विकासले फड्को मारेपनि मानिसका सोच्ने, खाने, जिउने लगायत अधिरचनाका अन्य रूपमा खासै परिवर्तन देखिदैन । यस्तो हुनुको पछाडि धेरै कारण हुनसक्छन् । संस्कारसंस्कृति, धार्मिक कट्टरता र शैक्षिक प्रणालीले पनि यस्तो परिवर्तनमा असयोग गरेको हुन्छ । त्यही भएर यो प्रक्रिया शब्दमा भनेजस्तो त्यति सहज प्रक्रिया हैन ।

सर्जकको काम यस्ता पुरातन गजवारलाई भाँच्ने हो । भत्काउने हो । जबसम्म पूरानोलाई भत्काउन सकिदैन नयाँ बन्दैन । भत्काउनुको अर्थ विनिर्माण हैन । नयाँ निर्माणका लागि पुरानोको ध्वंस सिर्जना हो । लेखकले भत्काउने भनेको पुराना भैसकेका नियम–सिद्धान्त, शैली र बिम्बविधान हो ।

अहिले पनि विश्वविद्यालयका गुरुहरू एक्स्पायर भैसकेका पुरानै नियम पढाइरहेका छन् । नेपालका वामपन्थी लेखकहरू झन्डै एक शताब्दी पुरानो रसियन धङधङी बोकेर हिँडेका छन् । कतिपय आधुनिक भनिएका कविलेखकहरूले अझै पनि मौलिकताका नाममा पुरानै संरचना र शैलीलाई काखी च्यापेको पाइन्छ । यहाँ पुरातन शैली भत्काउन खोज्नेलाई अराजक, बुद्धू र नारावादीको ट्याग लगाउने प्रचलन छ । कुन बुद्धू लेखक होला जसले आधुनिक साहित्यको उचो मिनार पुरानै जगमा सम्भव हुन्छ भन्ला । कम्तीमा पनि वामपन्थी लेखकले त यसो नभन्नु पर्ने । तर ध्वंसलाई स्वीकार गर्ने हाम्रा लेखक महोदयहरू जब भत्काउने बेला आउँछ सिद्धान्तको बहाना बनाएर भाग्ने गर्छन् ।

साहित्यमा भत्काउने भनेको के हो ? कसरी साहित्यमा नयाँ बन्छ । के पुरानै छन्द, अलङ्कार र बिम्ब विधानलाई लिपपोत गरेर नयाँ बन्छ ? कि संरचनामै नयाँ गर्ने हो । मौलिकताको नाममा के हामी अझै पनि लोकगीतलाई नै हाम्रो मूल शैली बनाउन सक्छौँ ? लोकगीतलाई कसरी नयाँ बनाउन सकिन्छ ? न त हामी मौलिकताको नाममा सती जानसक्छौँ न त नयाँको नाममा पश्चिमा विसंगति र विकृतिलाई भित्र्याउन सक्छाँैँ । यतातिर बहस गर्ने कि विश्वबाटै बहिस्कृत भैसकेका शैली र संरचनालाई हाम्रो मौलिक पहिचान भन्दै समातिराख्ने ?

कतिपय साहित्यकारलाई लाग्छ नयाँ भनेको अमूर्तता र दुरुहता हो । यो फोस्रो आडम्बर हो । न त कला फोस्रो वौद्धिकता हो न सस्तो लोकप्रियता । आस्थामाथि प्रहार नगरेसम्म नयाँ बन्दैन । तर हाम्रो समाजमा आस्थामाथि प्रहार गर्नसक्ने क्षमता छैन । यो भनेको विद्रोही चेत हो । नेपाली समाज विद्रोही हैन दम्भी समाज हो । बूढो गोरुजस्तो जति पिटेपनि सहने, जे दिए पनि खाने ।

कहिलेकाहीँ देखापर्ने विद्रोही चेत पनि समर्पण र अतिशय राजनीतिक आश्रयका कारण कमजोर हुने गरेको छ । भेलजस्तो आउने र खहरेजस्तैगरी सुक्ने क्रान्तिचेत काम लाग्दैन । न त विहारी शैली नै काम लाग्छ । निरन्तर प्रश्न गर्ने र निरन्तर सजकतापूर्वक प्रश्न गर्ने संस्कार संस्कृतिको जगेर्ना गर्न बाँकी छ । आफ्नामाथि मात्र हैन आफैमाथि प्रहार नगरेसम्म, आफ्नै प्रतिगमनकारी सोचका विरुद्ध विद्रोह नगरेसम्म कसरी नयाँ बन्ला !

अहिलेको पुस्ता बढी सचेत र सजक छ । यो पनि आवश्यकताले सिर्जना गरेको चेतना हो । हामी कसरी मलेसिया र अरबमा पराधीन जीवन काटिरहेका छौँ ? कसरी अमेरिका र अष्ट्रेलियमा विवश जीवन बाँचिरहेका छौँ ? यही मनोद्वेगले, यही पीडाले हामीभित्र क्रान्ति चेत जाग्दो छ । हामी लेखक साहित्यकार पनि यही मनोवेगद्वारा परिलक्षित हुनुको विकल्प छैन ।

आक्रोश र असहमति व्यक्त नगरेसम्म राज्यले सुन्दैन । कला साहित्यमा यो काम नयाँ पुस्ताले गर्छ । विधासिद्धान्तले हामीलाई विद्रोही बनाउँदैन । बनिबनाउ बाटो हिँडेर पुग्ने पुरानै ठाउँमा हो । नयाँ ठाउँमा पुग्नु छ भने वर्तमानसँग जोरी खोज्नैपर्छ । निरन्तरताको अस्वीकृति, निषेध र मोहभङ्गता नै नवीन सोचको प्रथम सोपान हो । साहित्यमा नयाँ भनेको सबै कुरामा नयाँ हो । अन्तर्वस्तुमा नयाँ, भाषामा नयाँ, लय र बिम्बमा नयाँ अनि शैलीमा नयाँ । -नेपाली साहित्य घरबाट

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

फास्ट ट्र्याक सुरुङमा रिबिट खस्दा एक कामदारको मृत्यु, अर्का घाइते

मकवानपुर / मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारस्थित काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सुरुङ...
हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

हेटौंडामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

मकवानपुर, जेठ १२/  मकवानपुरको हेटौंडामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १, चौकिटोल...
महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

महिनावारी हुँदा किन पेट फुलेजस्तो लाग्छ ?

हेटौंडा / धेरै महिलाहरूले महिनावारी हुनुअघि वा महिनावारीकै समयमा पेट फुलेजस्तो, भारी वा ग्यास भरिएको अनुभव गर्ने गर्छन् । चिकित्सक...
हेटौंडामा  ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडामा ‘डिस्टिङ्ग्विस्ड जेन्टलम्यान राइड’ आयोजना हुँदै

हेटौंडा /  पुरुष मानसिक स्वास्थ्य तथा प्रोस्टेट क्यान्सरबारे सचेतना फैलाउने उद्देश्यले हेटौंडामा तेस्रो पटक ‘डिस्टिङ्ग्विस्ड जेन्ट...
Home
ट्रेन्डिङ
ताजा अपडेट
Search
× Add a menu in "WP Dashboard->Appearance->Menus" and select Display location "WP Bottom Menu"