काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुन लागेको छ । वार्ता विराटनगरको एक होटलमा दिउँसो ३ बजे हुने जनाइएको छ । प्रदेशको नाम कोशी खारेज गरेर पुनः नामकरण गर्नुपर्ने माग राख्दै आन्दोलनमा रहेको प्रदेश नम्बर– १ पुन नामांकन संयुक्त संघर्ष समितिले वार्ता समिति गठन गरेपछि आज सरकारसँग वार्ता हुन लागेको हो ।

माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । वार्ता टोलीले माघ १२ गते संयुक्त संघर्ष समितिलाई वार्ताका लागि पत्र पठाएको थियो । बुधबार बसेको संयुक्त संघर्ष समितिको बैठकले वार्तामा जाने निर्णय गर्दै वार्ता समिति गठन गरेको थियो । समितिले आज सरकारसँग वार्ता गर्ने पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले जानकारी दिनुभयो । कोशी सरकारले आन्दोलनरत पक्षसंग वार्ताबाटै सामाधान खोज्ने जनाएको छ ।
इेमेज खबरबाट साभार गरिएको,





























