शुभराज भोम्जन
दक्षिण कोरिया । तामाङ समुदायको मौलिक साँस्कृतिक चाड २८६० डुक ल्हो सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ जेजुदो शाखाले आयोजना गरेको सोनाम ल्होछार बृहत सास्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

आइतबार जेजुको अस्तार होटलको सभाहलमा भएको कार्यक्रममा नेपाल देखि आएका अतिथी कलाकार उर्गेन दोङले आफ्नो सांगीतिक प्रस्तुती मार्फत जेजुवासीलाइ झुमाएको थियो । आपतकालिन राहत कोष सहयोगार्थ आयोजना गरेको उक्त कार्यक्रममा जेजु आसपासमा बसोबास गर्ने नेपालीहरुको बाक्लो सहभागिता रहेको थियो । जेजुदो घेदुङले स्थापना कालदेखिनै जेजुदोमा ल्होछार मनाउदै आइरहेको भए पनि यस वर्ष भने पहिलो पटक सिधै नेपाल देखि कलाकार झिकाएर कारक्रमको आयोजना गरेको हो ।

उक्त साँस्कृतिक कार्यक्रममा उर्गेन दोङ सङ्गै नृत्याङ्गना प्रतिज्ञा लामा, गायिका रिचा ब्लोन तामाङ र अन्य थुप्रै स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुती मार्फत सहभागि दर्शक श्रोतालाइ भरपुर मनोरञ्जन दिलाएको थियो । गायक उर्गेन दोङले निरन्तर रुपमा झण्डै एक घण्टा आधा भन्दा बढी समय गीत गाएर सहभागि दर्शक श्रोतालाइ झुमाएको थियो ।

आफ्नो प्रस्तुतीको अन्तिममा गायक दोङले जेजुदो जस्तो शुन्दर सहरमा आफ्नो सांगीतिक प्रस्तुती दिन पाउदा खुसी लागेको प्रतिकृया दिएका थिए । नेपाल तामाङ घेदुङ जेजुदो शाखाको अध्यक्ष सुनिता ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको महासचिव दावा फिञ्जो योञ्जन तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरी अन्तराष्ट्रीय तामाङ परिषदका सचिव शुभराज भोम्जनको विशिष्ठ आतिथ्यता रहनुका साथै नेपाल आदिबासी जनजाती महासंघ दक्षिण कोरिया जेजुदो शाखाको अध्यक्ष गजिन हाङस्रोङ , नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको सचिव निर योञ्जनको विशेष आतिथ्यता रहेको थियो भने बिभिन्न जातिय तथा क्षेत्रीय संस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।






























