सन् २००८ सेप्टेम्बर २१ आईतबार युएई उड्दै सुरु गरेको हवाई यात्रा कोरिया बसाईको पहिलो ६ वर्षे कार्यकाल सकाएर चाइनाको ग्वाङझाऊ ट्रान्जिट हुँदै स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै १० पल्ट आउजाउ गरिएछ । युएई बसाईको क्रममा ४ पल्ट सहित यो विमास्थललाई १४ पटक प्रयोग गरिएछ । अहिले सम्मको १४ पटकको हवाई यात्रामा युएई आवात जावतको यात्रा सबै डाइरेक्ट थियो ।
कोरियाबाट पहिलो छुट्टी सन् २०१९ को अन्त्यतिर नेपाल फर्कदा इन्छन देखि चाइनाको छङ्दु सम्मको यात्रा अत्यन्तै आनन्दित रह्यो । म झ्यालपट्टीको सिटमा परेको थिए, जहाज हिमश्रृङ्खलाको विचैबिच थोरै माथि लामो समय उडीरहदा मनमोहक दृश्य आँखा र मोबाइलमा कैद गरेको छु । हिमाललाई सधैं तलबाट मात्रै हेर्ने मौका मिल्छ, तर त्यो दिन हिमाल भन्दा माथिबाट हेरेको थिए । छरपष्ट बिक्षाएको सेतो वादलको बिस्कुन छिचोलेर चुचुराहरू आकाशलाई नियालिरहेका थिए । त्यो भन्दा पनि माथिबाट म गिज्याइ रहेन्थे । इन्छनबाट कतारमा ट्रान्जिट पर्दा सबैभन्दा लामो साढे १० घण्टाको नियमित यात्रा बिर्सन लायक थियो । त्यो पट्यार लाग्दो यात्रामा दुई पल्ट त खाना खाएको याद अझै छ । बाँकी थाइल्याण्ड, छङदु (चाइना), हङकङ र ग्वाङझाऊ (चाइना) लाई पनि ट्रान्जिट प्वाइन्ट बनाइयो भने ३ वटा उडान काठमाण्डु देखि कोरिया डाइरेक्ट उडान गरियो । यो यात्रा क्रममा आफ्नै रेकर्ड बारम्बार ब्रेक गरेको छु, कोरियाको एक कार्यकाल सक्दा पाँच पटक नेपाल फर्किएको छु भने पछिल्लो महिना मात्र कोरिया बसाईलाई तोडेर ठीक ५० दिन मात्रै पनि कोरिया बसेर नेपाल फर्केको छु ।
कोरोना कालको यात्रा बहुतै कठिन थियो यद्यपि घरको प्रतिकूल अवस्थाको कारण दुई पटक दोहोरो यात्रा गर्नै पर्यो । कोरोना चेक गरेको नेगेटिभ रिसल्ट र भ्याक्सिन लगाएको पेपर अनिवार्य साथमा हुनुपर्ने । त्यो समय कोरियाले एयरपोर्ट बस हटाएकोले एयरपोर्टसम्म आउन जान थप कठिन थियो । त्यसताका त्रासदीपूर्ण यात्रामा एकपल्ट काठमाडौं बाट फर्कदा कोरियाको इन्छन् एयरपोर्टमा कोरोना पोजिटिभ देखाएर १४ दिन अनकण्टार ठाँउमा लगेर थुनेर (क्वारेण्टाइन) राखेको सारै नमिठो याद अझै मानसपटलमा ताजै छ । सुरुको यात्रामा जहाज भित्र भएको चर्पी प्रयोग गर्न र खाना खान असहज लाग्थो तर त्यो मैले युएई आउजाउ गर्दा नै सिकिसकेको थिएँ । जहाजमा खाना अघिपछि वा खानासँगै दिने ड्रिंक्समा एयर होस्टजले के खानुहुन्छ भनि प्रस्ताव गर्दा सुरुवाती यात्रामा लजाउँदै म्याङ्गो जूस मागेर पिउथे भने पछिल्लो क्रममा निर्धक्क रेडवाइन, ह्विस्की मागेर खाना सँगै दिएको मिक्स नटलाई सितन बनाएर अरु एकपल्ट पेय पदार्थ थपेर खाने गर्छु।
अर्को रोचक अनुभव के छ भने एयरपोर्टमा नेपाली साथीहरु धेरै भेट्छु कोही त एक कार्यकाल पुरै एकैपल्ट सकेर फर्कदै गरेका हुन्छन् त कोही बीचमा एकपल्ट छुट्टी गएका साथीहरु पनि पाउछु । उनीहरू आफू भन्दा धेरै पल्ट आउजाउ गरेकाहरुलाई पनि परामर्श दिन भुल्दैनन् । प्राय नेपालीहरु आफूले नजानेका कुरा पनि सिकाउन पछि पर्दैनन् । अन्य देशमा ट्रान्जिट पर्दा इमिग्रेशन र सेक्यूरिटी चेकमा सँगै लाइनमा बसेका अरु देशका नागरिकलाई भन्दा नेपाली पासपोर्ट धारीलाई हेयको दृष्टिले हेरेको आभाष हुन्छ । अरु देशका एयरपोर्ट भन्दा नेपालको एयरपोर्ट सानो र पुरानो शैलीको छ अझ पहिले त धेरै फोहोर पनि थियो । युएई आतेजाते गर्दा ट्वाइलेटको भित्ता र भुइँतिर गुड्का र खैनी थुकेर विरङ्गी परेका हुन्थे भने फ्लोर पनि तेस्तै फोहोर थियो । अहिले सफा र धेरै कुराहरु सुधार भएको छ । तर जहाज अवतरण गरेर राम्रोसँग रोकि नसकी हतार÷हतार सिटबाट उठी झोला बोकेर बाहिर निस्किन खोज्ने नेपालीको बानी सुधार भएको छैन । मैले १४ पटक प्रयोग गरिसकेको एयरपोर्टमा दैनिक हजारौं यात्री आउजाउ गर्छन् । नेपाल मात्र यस्तो देश होला जहाँ विदेश हिँडेकालाई खादा, माला अनि टिका लगाएर सम्मान गरी विदाई गर्छन् । जुन कुरा मलाई बिल्कुल उपयुक्त लाग्दैन, एयरपोर्ट भित्र पसिसकेपछि त्यो कसिङ्गर बन्छ र विदेश पलायन हुनेलाई यो सम्मान सुहाए जस्तो पनि लाग्दैन । बरु नेपाल फर्केर आएकालाई स्वागत तथा सम्मान गचदा ठिकै होला ।
क्रमशः बाँकी अर्को अंकमा ।





























