शुभराज भोम्जन
दक्षिण कोरिया । नेपाली कथानक चलचित्र पुजार सार्कीको सौल शोको पोस्टर सार्वजनिक भएको छ । सौल शोको पोस्टर आइतबार दोङदेमुनमा एक कार्यक्रमको बिचमा सार्वजनिक गरिएको हो ।

नेपालका तिन स्टार कलाकारहरु आर्यन सिग्देल, प्रदिप खड्का र पल शाहको मुख्य अभिनयमा बनेको चलचित्र पुजार सार्कीको दक्षिण कोरियाको लागि प्रदर्शनी अधिकार सुर्खेत समाजले लिएको छ । सुर्खेत समाज दक्षिण कोरियाकै आयोजनामा आपतकालिन् राहत कोष सहयोगार्थ सौलको जोगेसा हलमा मे २६ मा उक्त चलचित्रको दुई शो प्रदर्शन गर्ने भएको छ । पुजार सार्कीको शो लिएर प्रदर्शन गर्न चाहनेहरुलाई सम्पर्क गर्नको लागि अनुरोध समेत गरिएको छ ।
सामाजिक कथा बस्तुमा बनेको उक्त चलचित्रले देश तथा विदेशमा राम्रो ब्यापार गर्ने निर्माण पक्षले दाबि गरिरहेका छन् । किङडम नेटवर्कको ब्यानरमा बनेको उक्त चलचित्रको निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् भने चलचित्रमा आर्यन सिक्देल, पल शाह, प्रदिप खड्का संगै अञ्जना बराइली, परिक्षा लिम्बु, मोहन निरौला, लोकेन्द्र लेखक, तारा शर्मा, विद्या कार्की, सुवास गजुरेल, प्रेम सुब्बा लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । बिकास सुबेदीको कथा लेखन रहनुका साथै चलचित्रमा सुवास भूसालको लगानी रहेको छ । चलचित्रलाई राजेश श्रेष्ठले छायाँकन गरेका छन् ।





























