काठमाडौं / काठमाडौं–तराई मधेश द्रुतमार्गका सुरुङ ‘ब्रेक थ्रु’ हुन थालेका छन् । मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ४ सय ३० मिटर लम्बाइको सुरुङमार्ग शुक्रबार ब्रेक थ्रु भएको हो ।

लेनडाँडा सुरुङ ब्रेक थ्रु वैशाखमा सक्ने योजना रहेको थियो । निर्धारित लक्ष्यअनुसार नै सुरुङ जेठ पहिलो साता ब्रेक थ्रु गरिएको छ । नेपाली सेनाले सार्वजनिक गरेको विवरण अनुसार धेद्रे सुरुङ जेठ र महादेवटार सुरुङ आगामी असोजभित्र ब्रेक थ्रु गरिसक्ने लक्ष्य छ । कुल ७०.९७७ किलोमिटर लामो द्रुतमार्गमध्ये सुरुङको मात्र हिस्सा १०.५५ किलोमिटर छ । यस आयोजनामा कुल ६ स्थानमा सुरुङ रहने छ । लामो सुरुङका तीन प्याकेजमध्ये यसअघि ४.३२ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । यस आयोजनामा ८९ पुल बन्ने छ । जसले १२.८८ किलोमिटर ओगट्छ । धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माण ठेक्का चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको थियो । कुल ७०.९७७ किलोमिटर लामो द्रुतमार्ग निर्माणलाई सेनाले ११ खण्डमा विभाजन गरेको छ । जसमध्ये १ देखि ७ खण्ड र १० मा ठेक्का लागेर कामसमेत जारी छ । जसको लम्बाइ ४४.६२७ किलोमिटर हो ।





























