सिलिगुडी/ भारतको सिक्किमस्थित रम्फू नजिकै शनिबार भएको बस दुर्घटनामा ६ जना यात्रीको मृत्यु भएको छ । १५ जना घाइते छन् । सिलगडीबाट रम्फु जाँदै गरेको बस रम्फु नजिक अँधेरीमा दुर्घटना भएको थियो ।

दुर्घटना भएको बस सडकदेखि खसेर टिष्टा नदी नजिकै पुगेको थियो । नदीमा बस नपरेका कारण क्षति कम भएको स्थानीय प्रहरी अधिकारीले जनाएका छन् । दुर्घटनामा कोलकाताका इकबाल हसन, गान्तोकका गोपाल जे. प्रसाद, गोरुवथान डुवर्सका अजय तामाङ, जुलु रंग्पो सिक्किमकी जुली कुमारी, सिलिगुडीका इन्द्रजितको मृत्यु भएको छ । एक जना मृतकको सनाखत भएको छैन । दुर्घटनामा बसन्ती बर्मा, नौसाद आलम, समीर चौधरी, साजिर आलम, अमित तामाङ, शंकर डकुवा, नाश्वाद आलम, सुमन चौधरी, सुनिता देवी, तौफिक आलम, राहुल आलम र दीपक क्षेत्री घाइते छन् । त्यस्तै पतामोली बर्मन, साहनवाज र तजिमुद्दिन अन्सारी घाइते छन् । घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । केही डिस्चार्जपछि घर फर्किएका छन् ।





























