अन्जना न्यासुर तामाङ
हेटौंडा/ मकवानपुर जिल्लाको विकट मानिने राक्सिराङ गाउँपालिका–४ स्थित गिङगुङ्मा सञ्चालनमा आएको रिद्वि सिद्वि सिमेन्ट उद्योगअन्तर्गतको चुनढुङ्गा खानीका कारण त्यहाँको चेपाङ समुदाय प्रत्यक्ष प्रभावित बनेको छ । करिब ५ बर्ष वर्ष देखि चुनढुङ्गा खानी सञ्चालनमा रहेका छन् । उक्त खानीका कारण विगत २ बर्ष देखि २५ घरधुरी प्रत्यक्ष प्रभावित भएका छन् भने ५ घरधुरी विस्थापित भइसकेका छन् । डाँडामाथि सञ्चालनमा रहेको खानीबाट निकालिएको माटो र फोहोर व्यवस्थापन नगरिएकोले तलको चेपाङ बस्तीमा पहिरो जान सक्ने खतरा उच्च रहेको छ । बर्खायाममा माटो बगेर बस्तीमा पहिरो जाने उच्च जोखिम रहेकोले स्थानिय चिन्तित छन् । खानी क्षेत्रमा गाईबाख्रा चराउने स्थान पनि सिधै प्रभावित भएको छ, जसले चेपाङ समुदायको परम्परागत जीविकोपार्जनमा समेत असर पारेको छ । खानीको असर शिक्षा क्षेत्रमा समेत परेको छ । बस्ती नजिकको विद्यालय निजी व्यक्तिको जग्गामा सञ्चालन भइरहेको थियो । तर उक्त जग्गा खानी उद्योगले खरिद गरेपछि विद्यालय विस्थापित भएको हो । त्यसपछि त्यहाँका अधिकांश बालबालिका विद्यालय जान पाएका छैनन् ।
खानी क्षेत्रसम्म पुग्ने मनहरी–खानी सडकको अवस्था अत्यन्तै जीर्ण छ । निर्माणको क्रममा अत्यधिक धुलो उड्ने समस्याका साथै खानीबाट चल्ने टिप्परहरू ओभरलोड गरिने भएकाले सडक झनै बिग्रिएको छ । ओभरलोडका कारण दुर्घटनाको जोखिम बढेको छ भने धुलो र हल्लाका कारण स्थानीयको स्वास्थ्यमा गम्भीर असर परेको छ। यति हुँदा पनि खानी क्षेत्रमा अस्थाई प्रहरी पोस्ट रहेको अवस्थामा समेत नियमनको अभाव रहेको स्थानीयको गुनासो छ । उनीहरूका अनुसार सुरक्षाको नाममा प्रहरी भए पनि ओभरलोड नियन्त्रण, फोहोर व्यवस्थापन तथा विस्थापन समस्यामा प्रहरीको भूमिका देखिएको छैन ।
स्थानीय अगुवा विश्वराज थिङका अनुसार खानीका कारण विस्थापित भएकामध्ये केही परिवारलाई उनले आश्रय दिएका छन् । उनका अनुसार, “खानीले सस्तो मूल्यमा चेपाङहरूको जग्गा किनेर उनीहरूलाई विस्थापनमा धकेलेको छ । उनीहरूको रोजगारी, बासस्थान र भविष्य नै अन्योलमा परेको छ । सम्बन्धित निकायलाई पटक–पटक अनुरोध गर्दा पनि कुनै सुनुवाइ भएको छैन । बीचमा विचौलियाहरू सक्रिय भएर यस्तो स्थिति आएको हो ।”
यस्तै, अर्का स्थानीय डिल बहादुर प्रजा चेपाङले अघिल्लो कार्यकालको प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो । उनका अनुसार, “दुई वर्षदेखि स्थानीय सरकारलाई भनेका छौं । ज्ञापनपत्रसमेत बुझाएका छौं । तर अहिलेसम्म कुनै व्यवस्था गरिएको छैन ।” स्थानिय तथा चेपाङ समुदायले खानी सञ्चालनका कारण उत्पन्न समस्याको दीर्घकालीन समाधानका लागि तत्काल कदम चाल्न माग गरेका छन् । उनीहरूको मागमा विस्थापित परिवारहरूको पुनःस्थापना, बालबालिकाको शिक्षा सुनिश्चितता, खानीजन्य फोहोर र माटोको उचित व्यवस्थापन, र चरन क्षेत्र जोगाउने व्यवस्था मुख्य रहेका छन् ।
यसै गरी राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले खानीले चेपाङ बस्तीमा परेको असरको बारेमा भने, “खानीका कारण चेपाङ बस्ती प्रभावित भएको कुरा सत्य हो । तर खानीको स्वामित्व केन्द्र सरकारसँग रहेकोले पालिकाको भूमिका मुख्यतः दायित्व बोधसम्म सीमित छ । यद्यपि, पालिकाले प्रभावित बस्तीका लागि संरक्षनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । ” अध्यक्ष मल्लले भने, “समस्या समाधानका लागि पालिका, उद्योग र स्थानीय बासिन्दाबीच छलफल गरेर निचोड निकाल्ने बताए । केही घटनामा चेपाङ समुदायलाई विचौलियाहरूले उक्साएको देखिन्छ, जसले समस्यालाई थप जटिल बनाएको छ ।”
यसै गरी उद्योगका अनुसार सो खानी क्षेत्रमा ३.१२५ मिलियन टन खनिज भण्डारण रहेको छ । त्यहाँबाट दैनिक ३,००० मेट्रिक टन चुनढुङ्गा उत्पादन भइरहेको छ भने दैनिक ७३ घन मिटर माटो र ४८०.८ घन मिटर खानीजन्य फोहोर निस्किन्छ । तर त्यसको व्यवस्थापनको ठोस योजना नभएको स्थानीयको गुनासो छ ।





























