हेटौंडा/ “श्रम तथा उत्पादनमा वाईसीएल” भन्ने मूल नाराका साथ वाईसीएल नेपाल मकवानपुरले श्रमदान कार्यक्रम सञ्चालन गरेको छ । वाईसीएल नेपाल केन्द्रीय समितिद्वारा सञ्चालित दुई महिनाको श्रम अभियान अन्तर्गत मकवानपुरमा यो अभियान अघि बढाइएको हो ।

कार्यक्रम अन्तर्गत बकैया गाउँपालिका–८ स्थित ‘सहित स्मृति भलिबल ग्राउन्ड’ निर्माणका लागि श्रमदान गरिएको हो । ग्राउन्ड निर्माण कार्यमा वाईसीएलका सदस्यहरूसहित पार्टी पदाधिकारी, स्थानीय जनप्रतिनिधि र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । श्रमदान कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रदेश समिति सदस्य तथा मकवानपुर जिल्ला फ्याक्सन इन्चार्ज सुमन पाख्रिन, वाईसीएल नेपाल केन्द्रीय सदस्यहरू कमल अर्याल र दिपेन्द्र अधिकारी, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्त खत्री, पार्टीका गाउँ कमिटी अध्यक्ष बिमल नेपाल, वाईसीएल नेपाल बाग्मती प्रदेश सह–सचिव विष्णु नेगी ‘विश्वास’, वाईसीएल मकवानपुरका जिल्ला पदाधिकारी तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वाईसीएल मकवानपुरका अध्यक्ष मुक्ति लामाले आगामी दिनहरूमा जिल्लाका १० वटै स्थानीय तहहरूमा “श्रम तथा उत्पादनमा वाईसीएल” नारासहित श्रम तथा उत्पादनमुखी कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए। उनका अनुसार युवाहरूलाई देश निर्माणमा संलग्न गराउने र श्रमको सम्मान गर्ने संस्कार विकास गर्नु अभियानको प्रमुख उद्देश्य हो ।





























