हेटौंडा ः हेटौँडा उपमहानगरपालिका–१० स्थित टोनी हेगन पार्कमा निर्माण भइरहेको तामाङ संग्रहालयको भौतिक संरचना ९० प्रतिशत पूरा भएको छ ।

तामाङ समुदायको भाषा, लिपि, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले २०८० सालमा शिलान्यास गरी संग्रहालय निर्माण सुरु गरिएको हो । निर्माणका लागि आर्थिक वर्ष २०८०÷८१ मा हेटौँडा उपमहानगरपालिकाबाट ३० लाख, वडा नम्बर १० बाट ११ लाख र व्यक्तिगत स्रोतबाट ६ लाख रुपैयाँ सहयोग प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष रोशन गोलेले बताउनुभयो ।
यसैगरी आर्थिक वर्ष २०८१÷८२ मा नगरपालिकामा थप ३० लाख र १५ लाख रुपैयाँ बजेट प्राप्त भएको अध्यक्ष रोशन गोलेको भनाई छ ।आर्थिक वर्ष २०८२÷८३ मा हेटौँडा उपमहानगरपालिकाबाट ४० लाख रुपैयाँ तथा बागमती गाउँपालिका र भीमफेदी गाउँपालिकाबाट ५÷५ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । चालु आर्थिक वर्ष २०८३÷८४ मा हेटौँडा उपमहानगरपालिकाले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।
यसैगरी संग्रहालयमा भूमिगतसहित साढे दुई तले भवन रहेको छ । भवनमा ६ वटा कोठा र एउटा हल निर्माण गरिएको छ । संग्रहालयमा तामाङ समुदायका परम्परागत भेषभूषा, घरका स्वरूप, सांस्कृतिक सामग्री तथा पुर्खाले प्रयोग गरेका वस्तुहरू राखिनेछ । अब बाँकी प्लास्टर, रंगरोगन, डिजाइन तथा ड्रेनेजको काम पूरा गर्नुपर्नेछ । डिजाइनमा तामाङ संस्कृतिको झल्को दिने गरी काम गरिनेछ । हेटौँडा उपमहानगरपालिकाले उपलब्ध गराएको २८ धुर जग्गामा निर्माण भइरहेको संग्रहालयको बाँकी काम चालु आर्थिक वर्षमै सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।





























