हेटौंडा / नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ९साम्बा० साउन १७ गते हेटौंडामा विशेष सम्मान पाउने भएकी छन् ।

‘देश चिनाउनेसँग हाम्रो चिनजान’ शीर्षकमा आयोजना हुने उक्त कार्यक्रममा ५० हजार रुपैयाँ नगदसहित भण्डारीलाई सम्मान गरिनेछ । कार्यक्रमको आयोजना सञ्चारिका समूह नेपाल, मकवानपुरले गर्दैछ भने सम्मान हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक तथा शिक्षाविद् पुरणबहादुर जोशी को प्रायोजनमा प्रदान गरिनेछ । कार्यक्रमको उद्देश्य भण्डारीले फुटबलमा पुर्याएको योगदानलाई आम दर्शकसामु प्रस्तुत गर्नु हो । उनी पहिलो नेपाली महिला खेलाडी हुन् जसले अन्तर्राष्ट्रियस्तरमा ५० गोल पुर्याएकी मात्र होइन, युरोपेली क्लबबाट गोल गर्ने कीर्तिमान समेत बनाएकी छन् ।
सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष निशा गुरुङका अनुसार,“साबित्राले देशलाई अन्तर्राष्ट्रिय फुटबल नक्शामा चिनाएकी छन् । उनको संघर्ष, सफलता र योगदान भावी पुस्ताका लागि प्रेरणा हो ।” लमजुङको सिम्पानीमा जन्मिएकी भण्डारीले सन् २०१४ मा राष्ट्रिय टोलीबाट खेल्न सुरु गरेकी हुन् । मोजाको बल बाट फुटबल सिक्न सुरु गरेकी साम्बाले सुरुमा केटाहरू सँगै मैदानमा खेल्नुपर्दा सामाजिक आलोचना सहिनुपरेको थियो । तर, परिवारको समर्थन र आफ्नै दृढताले उनलाई फुटबलमा जम्न प्रेरणा बन्यो । २०७० मा भएको स्थानीय प्रतियोगिताबाट एपीएफ क्लबको नजरमा परेपछि उनको करियर अघि बढ्यो ।
भण्डारीले डब्लु.ए.एफ.एफ वुमन्स च्याम्पियनसीप मा ५० अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बनाउँदै नेपाली फुटबलमा ऐतिहासिक उपस्थिति जनाएकी हुन् । उनले भारतको सेथु एफसी र गोकुलम केरला क्लबबाट पनि सर्वाधिक गोल गर्दै क्लबलाई च्याम्पियन बनाएकी छन् । त्यसपछि फ्रान्सको गुइनगाम्प क्लब हुँदै हालसालै उनले न्युजिल्यान्डको वेलिङ्टन फोनिक्स एफसी सँग दुई सिजनको सम्झौता गरेकी छन्। फोनिक्स क्लब अष्ट्रेलियाको शीर्ष लिगमा प्रतिस्पर्धा गर्ने क्लब हो । २०७७ मा भएको एक खेलमा घुँडाको गम्भीर चोटले करिब १३ महिना मैदान बाहिर रहनुपरेको थियो। एन्फाको पहलमा कतारमा उपचारपछि उनी पुनः मैदान फर्किएर पुरानै लयमा फर्किएकी छन् । उनको सफलताले समाजमा छोरीहरूले पनि खेलकुदको माध्यमबाट देश चिनाउन सक्छन् भन्ने सोच बलियो बनाएको छ ।





























