हेटौंडा/ बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८१÷८२ को प्रगति विवरण सार्वजनिक गरेको छ ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भौतिक पुर्वधार मन्त्री अमनकुमार मास्केले मुख्य उपलब्धिहरू र चालु आर्थिक वर्षका कार्यदिशाबारे जानकारी गराउनुभएको हो । मन्त्री मास्केले विश्वास, सहकार्य र पारदर्शिता को मूल धारमा रहेर मन्त्रालयले ५५ वटा समस्याग्रस्त आयोजनाहरू पहिचान गरेको जानकारी दिनुभयो । तीमध्ये २१ वटा आयोजना सम्पन्न भइसकेका छन् भने ३४ वटा आयोजनामा काम अघि बढिरहेको बताउनुभयो । विपद् व्यवस्थापनका लागि गठन गरिएको द्रुत प्रतिकार टोली मार्फत बाढी र पहिरोले क्षति पु¥याएका काभ्रे, भक्तपुर, रामेछाप, सिन्धुली लगायतका स्थानहरूमा सडक तथा भौतिक संरचनाहरू तत्काल पुन सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । पुनर्निर्माण र पुनस्थापनाका लागि १५ करोड २५ लाख रुपैयाँ बजेट स्वीकृत भई काम थालिएको छ भने संघीय सरकारलाई ५ अर्ब ५० करोड रुपैयाँ बराबरको आपत्कालीन पुनर्निर्माण योजना समेत पेश गरिएको छ । संघीय तहमा भवन सम्बन्धी नीति नहुँदा समेत प्रदेशस्तरमा पहिलोपटक भवन निर्माण नीति २०८१, जग्गा एकीकरण सम्बन्धी ऐन र सहरी नीति २०८२ को तयारी भई मन्त्रिपरिषदमा पेश गरिएको छ । मन्त्रालयले निर्माण, योजना, अनुसन्धान र व्यवस्थापनतर्फका कामलाई चुस्त बनाउन आन्तरिक अनुशासन प्रणाली लागू गरेको जनाएको छ । गत वर्षको पूँजीगत खर्च ७५ दशमलव १ प्रतिशत पुगेको छ । जनता आवास कार्यक्रम अन्तर्गत चेपाङ, बोटे, बनकरिया समुदायका लागि नयाँ घर निर्माणको कार्यलाई निरन्तरता दिइएको छ । माटो र चुनाको प्रयोगबाट सस्तो, सुरक्षित र दगिो नमूना आवास निर्माणका लागि आगामी वर्ष बजेट छुट्याइएको पनि मन्त्रालयले जनाएको छ ।





























