हेटौंडा / तामाङ समुदायको मौलिक कथा, संस्कृति र जीवनशैलीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘ह्याङ तामाङ’ प्रदर्शनमा आएको छ ।

हेटौंडाको ओम्याक्स हलमा विशेष प्रिमियरसहित चलचित्र शनिवार प्रदर्शनमा आएको हो । प्रदर्शनमा दर्शकहरूको व्यापक उपस्थिति रहेको थियो । चलचित्रका नायक सिताराम गोलेका अनुसार ‘ह्याङ तामाङ’ले तामाङ समाजको रीतिरिवाज, भाषा, कला, संस्कृति तथा पछिल्ला वर्षमा समुदायले भोग्दै आएको सामाजिक तथा राजनीतिक यथार्थलाई गहिरोसँग प्रस्तुत गरेको छ । उहाँले चलचित्रले तामाङ समुदायको आत्मा, पहिचान र भावनालाई प्रभावकारी ढंगले दर्शकसमक्ष पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।
निर्माण टोलिका अनुसार चलचित्रको छायांकन काठमाडौं, मनाङलगायत विभिन्न भौगोलिक तथा सांस्कृतिक स्थानहरूमा गरिएको हो । चलचित्रमा अभि लामा, अनिता गोले, जय स्याङ्तान , निर्मला मोक्तानलगायतका कलाकारहरूको सशक्त अभिनय समावेश छ । चलचित्रले सांस्कृतिक पक्षसँगै मनोरञ्जन र सामाजिक राजनितिक शन्देशलाई प्राथमिकता दिएको बताइन्छ । चलचित्रको निर्देशन निर्देशन निमा लामाले गर्नु भएको हो । चलचित्र हेटौंडामा प्रदर्शन सुरु भएसँगै निर्माण पक्षले चलचित्रलाई बागमती प्रदेशका अन्य जिल्लाहरूमा पनि क्रमिक रूपमा प्रदर्शन गर्ने तयारी गरेको छ । तामाङ कला, संस्कृति र मौलिक कथामा रुचि राख्ने दर्शकका लागि ‘ह्याङ तामाङ’ एक महत्वपूर्ण र प्रभावशाली सिनेम्याटिक अनुभव बन्ने अपेक्षा निर्माण टोलिको रहेको छ ।





























