हेटौंडा/ तामाङ सांगीतिक क्षेत्रमा नयाँ र मौलिक सिर्जनाका रूपमा गायक मिलन दोेङको आवाजमा सजिएको गीत ‘श्याजी डुम्फुरे’ चाँडै बजारमा सार्वजनिक हुने भएको छ ।

मेल्वान म्युजिकको प्रस्तुतिमा तयार भएको यस गीतले तामाङ समुदायको संस्कृति, परम्परा र मौलिक बाजागाजालाई समेट्ने प्रयास गरेको निर्देशक शुभराज भोम्जनले बताएका छन् । गीतमा शब्द तथा संगीत गायक मिलन दोङकै रहेको छ भने एरेञ्ज चन्द सिंह मिक्स तथा दिपेश प्रधान डिप स्टुडियोले गरेका छन् । गीतको रेकर्डिङ नेपाल र कोरियास्थित सुपरमिक्स स्टुडियोमा गरिएको छ । गीतको भिडियोमा शर्लिन तामाङ, शोभा तामाङ, दावा फिन्जो योञ्जन, निर तामाङ, राजकुमार स्याङ्तान, गणेश योञ्जन, मनोज तामाङ, नोर्बु लामा र धनराज ब्लोनको अभिनय रहेको छ ।
भिडियो छायाङ्कन अमिर योञ्जन तामाङले गरेका छन् भने सम्पादन तथा रङ संयोजन सूर्य लामाले गरेका हुन् । पोस्ट–प्रोडक्सन जिग्मे मिडिया प्रोडक्सनले गरेको निर्देशक भोम्जनले बताए । परम्परागत तामाङ संस्कृति र संगीतलाई उजागर गर्ने उद्देश्यसहित तयार गरिएको ‘श्याजी डुम्फुरे’ ले सार्वजनिक भएपछि दर्शक तथा स्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा निर्माण टिमको रहेको छ ।





























