हेटौंडा / मनहरी गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। गाउँपालिकाले प्रधानमन्त्री विपद् सहायता कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

आइतबार बसेको स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले बाढीबाट प्रभावित रसुवा, नुवाकोट तथा धादिङलगायतका क्षेत्रका नागरिकको उद्धार तथा राहतका लागि सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । सहयोगमा जनप्रतिनिधिहरूले समेत आफ्नो सेवा सुविधा कटौती गर्ने भएका छन्। गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले तीन महिनाको सेवा सुविधा बाढीपीडितका लागि उपलब्ध गराउने घोषणा गरेका छन् भने अन्य जनप्रतिनिधिले एक महिनाको सेवा सुविधा बराबरको रकम सहयोग गर्ने निर्णय भएको छ ।
यसअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरको आग्रहअनुसार गाउँपालिकाले आवश्यक उद्धार सामग्री सुपारेटार ब्यारेकलाई हस्तान्तरण गरिसकेको छ । बाढी प्रभावित क्षेत्रमा थप राहत पठाउन गाउँपालिकाले खाद्यान्न तथा जिन्सी सामग्री संकलन अभियानसमेत अघि बढाएको छ। त्यसका लागि स्थानीय उद्योग वाणिज्य संघ, मध्यवर्ती क्षेत्र समिति, सामुदायिक वन उपभोक्ता समिति, विभिन्न संघ–संस्था तथा आम नागरिकलाई सहयोग गर्न अपिल गरिएको छ। गाउँपालिकाले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।





























