काठमाडौं / प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ विजयी भएका हुन् ।

विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे । उनीहरुबिचको मतान्तर पाँच हजार ८३० मत रह्यो । त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए ।
चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए । चुनाव जित्ने आंकलन गरेका रास्वपाका उम्मेद्धार मिलन लिम्बु सहित १६ जनाको जमानत जफत भएको छ । एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।





























