दक्षिण कोरिया । किरातीहरुको पर्व यलेदेङ ५०८४ उभौली चाड साकेला दक्षिण कोरियामा फरक/फरक मितिमा बिभिन्न स्थानमा मनाउने भएको छ । किरात राई यायोक्खा दक्षिण कोरिया केन्द्रिय कार्यसमितिको आयोजनामा जुन १६ को दिन सुवनको खुल्ला चौरमा यलेदेङ ५०८४ उभौली चाड साकेला मनाउने भएको छ ।

त्यसैगरी बिभिन्न क्षेत्रीय कार्यसमितिहरुको आयोजनामा गजेदोमा मे २६, जेजुदोमा जुन २, बुसानमा जुन ९ र इक्सानमा जुन ९ तारिखको दिन मनाउने भएको छ । विगतको वर्षहरुमाझै यसवर्ष पनि विविध कार्यक्रमको आयोजना गर्दै उभौली चाड साकेला मनाउन लागिएको हो । कार्यक्रममा नेपालदेखि कलाकार नल्याएता पनि स्थानिय कलाकार र किरातीहरुको साँस्कृतिक पक्षहरुलाई प्रस्तुत गर्दै भव्यताका साथ मनाउने तयारी रहेको किरात राई यायोक्खा दक्षिण कोरियाका अध्यक्ष पुरन याम्फु राईले बताएका छन् ।
कार्यक्रममा किरात राईहरुको मौलिक सिली नाचको साथमा मौलिक परिकारहरुको पनि स्वाद चाख्न सकिने छ । किरात राईहरुको साँस्कृतिक र ऐतिहाशिक महत्व बोकेको चाडको अवसरमा आयोजना हुने कार्यक्रमहरुमा सकृय सहभागिताको निम्ती अध्यक्ष पुरन याम्फु राईले दक्षिण कोरियामा रहेका राई तथा गैर राईहरुलाई सहभागिताको लागि लाबा न्युज मार्फत विशेष आग्रह गरेका छन् ।





























