हेटौंडा / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मकवानपुर क्षेत्र नम्बर १ का सांसद प्रकाश गौतमको सचिवालयले क्षेत्रका ४० वटै वडामा पुगेर जनताको समस्या तथा गुनासो संकलन गर्ने अभियान सञ्चालन गर्ने भएको छ ।

बुधबार बसेको सचिवालय बैठकले क्षेत्र नम्बर १ अन्तर्गतका वडामा पुगेर स्थानीयका समस्या पहिचान गरी समाधानका उपायसमेत खोज्ने निर्णय गरेको हो । अभियानअन्तर्गत खानेपानी, विद्युत्, सडक, स्वास्थ्य उपचार, खाद्य तथा कृषि लगायतका जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा नागरिकका गुनासा संकलन गरिने सचिवालय प्रमुख किशोर अर्यालले बताउनुभयो । संकलन गरिएका समस्यालाई स्थानीय तह, प्रदेश वा संघीय सरकारमध्ये सम्बन्धित निकायमा पु¥याई समाधानका लागि पहल गर्ने सचिवालयको योजना छ । अभियानलाई प्रभावकारी बनाउन चारदेखि पाँचवटा टोली बनाएर एकैपटक विभिन्न पालिका तथा वडामा पुग्ने तयारी गरिएको अर्यालले जानकारी दिनुभयो ।
यसैगरी रास्वपा मकवानपुर जिल्ला उपसभापति सुरेश थापाले सांसद स्वयं सबै नागरिकको घरदैलोमा पुग्न सम्भव नभएकाले सचिवालयको टोलीमार्फत जनताको गुनासो सुन्ने र समाधानका लागि पहल गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको बताउनुभयो । अभियान सञ्चालन गर्दा रासपा मकवानपुर जिल्ला कमिटी तथा सम्बन्धित पालिका कमिटीसँग समन्वय गरिने उनले जानकारी दिनुभयो ।





























