हेटौंडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक एसपी श्यामबहादुर खत्रीले आफ्नो कार्यकालको सुरुवातदेखि हालसम्म प्रहरीले गरेका काम तथा प्रगतिको विवरण सार्वजनिक गरेका छन् ।

उनले आज बुधबार पत्रकार सम्मेलनका बीच आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । एसपी खत्रीका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा मकवानपुरमा साइबर अपराधसम्बन्धी १ सय २६ वटा घटना दर्ता भएका छन् । तीमध्ये फेसबुक आइडी ह्याक भएका २९ वटा, नक्कली फेसबुक आइडीसम्बन्धी ४७ वटा तथा टिकटक लगायत अन्य सामाजिक सञ्जालसँग सम्बन्धित ५० वटा घटना रहेका छन् ।
यस्तै, अनलाइन ठगी तथा स्क्यामसम्बन्धी ३ सय ५४ वटा निवेदन प्रहरीसमक्ष परेकोमा ३५ वटा निवेदनमा आवश्यक कारबाही तथा अनुसन्धानको काम अघि बढाइएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०८२÷८३ मा लागूऔषधसम्बन्धी २ सय १४ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा ४ सय ४ जना पक्राउ परेका छन्। प्रहरीले एक वर्षको अवधिमा २ हजार ६ सय २९ किलोग्राम गाँजा बरामद गरेको छ । ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजार १ सय ९२ वटा सवारीसाधनमाथि कारबाही गरी प्रहरीले १ करोड ७२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ। त्यस्तै, २२ लाख २६ हजार १२ रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरिएको एसपी खत्रीले जानकारी दिनुभयो ।
नदीजन्य पदार्थको अवैध उत्खनन तथा ओसारपसार नियन्त्रणका क्रममा १ सय ३६ वटा सवारीसाधन तथा उपकरणमाथि कारबाही गरी १० लाख ५३ हजार रुपैयाँ असुल गरिएको प्रहरीले जनाएको छ । मकवानपुरमा आर्थिक वर्ष २०८२÷८३ मा ४ सय १४ वटा सवारी दुर्घटना हुँदा ६४ जनाको मृत्यु भएको छ । एसपी खत्रीका अनुसार सो अवधिमा मकवानपुरमा विभिन्न प्रकृतिका १ हजार २ सय ६३ वटा मुद्दा दर्ता भएका छन्। ती मुद्दामा संलग्न १ हजार १ सय ५४ जनालाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक वर्ष २०८२÷८३ मा सबैभन्दा धेरै मुद्दा अभद्र व्यवहारसम्बन्धी रहेका छन्। यस अवधिमा अभद्र व्यवहारका २ सय ७३ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।





























