काठमाडौँ / सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे अर्थात राजीव गुरुङलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । सर्वोच्च अदालतले उच्च अदालत पाटनले गरेको ५ वर्ष कैदलाई सदर गर्ने फैसला सुनाएको छ ।

सर्वोच्च अदालतले मंगलबार फैसला सुनाएपनि फैसलाको पूर्णपाठ भने सार्वजनिक गरेको छैन । फैसलाको पूर्णपाठ सार्वजनिक गरेपछि यो कार्यान्वयनमा जाने छ । मनाङेको हकमा उनी सांसदका लागि योग्य कि अयोग्य त भन्ने प्रश्नमा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी ऐनमा भएको व्यवस्था अनुसार हुने पूर्वमहान्यायाधीवक्ता दिनमणी पोखरेलले बताए । उक्त ऐनको दफा १३ मा अयोग्यता सम्बन्धी व्यवस्था रहेको छ । उक्त ऐनको उपदफा ६ मा मनाङेको हकमा मिल्ने व्यवस्था छ । उक्त उपदफामा खण्ड ‘घ’ र ‘ङ’मा उल्लिखित कसूर बाहेक अन्य कसूरमा ५ वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई त्यस्तो सजाय भुक्तान गरेको मितिले ६ वर्ष पुरा नभएको व्यक्ति अयोग्य हुने भनिएको छ ।





























