हेटौंडा / मकवानपुरको हेटौंडामा नारी संरक्षण केन्द्रले आज सुरक्षा र शिक्षा परियोजनाको सामुदायिक छात्रवृत्ति कार्यक्रम अन्तर्गत ६६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।

कार्यक्रम नारी संरक्षण केन्द्रकी अध्यक्ष दीपा कुमारी गुरुङको नेतृत्वमा आयोजना गरिएको थियो। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देल प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
कार्यक्रममा गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, माइती नेपाल मकवानपुरका मन लामा, कार्यक्रम संयोजक ध्रुव अधिकारी, कोशिष बागमती प्रदेशकी फोकल पर्सन शकुन्तला पौडेल, हिमराइट्स मकवानपुरका फिल्ड सुपरभाइजर इन्द्रकुमारी तामाङ लगायतको पनि उपस्थिति थियो।
कार्यक्रम संयोजक जेरोम घलेले बताएअनुसार, आमा वा बुबा मध्ये कोही नभएको, मानव बेचबिखन र विभिन्न प्रकारका हिंसाबाट प्रभावित, सिमान्तकृत र आर्थिक रुपमा कमजोर विद्यार्थीहरूलाई यो सहयोग गरिएको हो।
हेटौंडा उपमहानगरपालिका ११ वडाका ६६ विद्यार्थीलाई ब्याग, कापी, कलम, युनिफर्म लगायतका शैक्षिक सामग्री वितरण गरिएको छ। यो सहयोग १२ कक्षासम्म निरन्तर प्रदान गरिनेछ।
संस्थाले विगत २५ वर्षदेखि पिछडिएका बालबालिकालाई शिक्षा पहुँच गराउँदै आएको छ र अहिलेसम्म २५५७ जनालाई छात्रवृत्ति प्रदान गरिसकेको छ।





























