हेटौंडा/ हेटौंडा उपमहानगरपालिका–१३ स्थित श्री कालिका आधारभूत विद्यालयमा ४३ औं अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरिएको छ ।

बुधबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष सङ्गीता वाइबाको अध्यक्षता तथा हेटौंडा–१३ का वडा अध्यक्ष पेम्बा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । समिति पुनः वाईवाको नेतृत्वमा ७ सदस्यीय सर्वसम्मत रुपले नयाँ कार्यसमिति चयन भएको हो । कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर सुधार तथा अभिभावक र विद्यालयबीचको सहकार्यका विषयमा प्रधानाध्यापक रामकृष्ण न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उहाँका अनुसार आर्थिक वर्ष २०८१÷८२ को तथ्याङ्क प्रतिवेदनमा विद्यालयमा २३८ जना विद्यार्थी अध्ययनरत रहेका छन् । उक्त तथ्याङ्कअनुसार ११ प्रतिशत विद्यार्थी विद्यालय बाहिर रहेका छन् भने ५ प्रतिशत विद्यार्थी मात्र नियमित रूपमा विद्यालयमा उपस्थित छन् । साथै १० प्रतिशत विद्यार्थीले परीक्षा नदिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रधानाध्यापक न्यौपानेले संरक्षण गर्ने अभिभावक नहुनु, जानकारी नदिई बोर्डिङ विद्यालयतर्फ जाने प्रवृत्ति तथा विद्यार्थी विद्यालय छोड्ने समस्या बढ्दै गएको जानकारी दिनुभयो ।
यसैगरी पुन पदभार ग्रहण गरेपछि अध्यक्ष वाइबाले केही विद्यार्थी आफन्तको घरमा बसेर अध्ययन गर्दा पढाइ छुट्ने गरेको, आर्थिक अवस्था कमजोर भएकाले तथा काम खोज्न जाने क्रममा विद्यालय छोड्ने समस्या देखिएको बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता समस्याको समाधान गर्दै विद्यालयको शैक्षिक अवस्था सुधार गर्न पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।





























