काठमाडौँ । २० जना राष्ट्रिय सभाका सदस्यहरूको पदावधि आज देखि सकिँदै छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना राष्ट्रिय सभा सदस्यहरुको पदावधि आजदेखि सकिने भएको हो ।

राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुने संबैधानिक व्यवस्था रहेको छ । नयाँ संविधानबमोजिम राष्ट्रियसभा गठन भएपछि पहिलोपटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला छ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आजदेखि सकिएको हो ।
आजबाट पदावधि सकिनेमा राष्ट्रिय सभाका अध्यक्ष र दुई राज्यमन्त्रीसहित २० जना रहेका छन् । आजदेखि रिक्त हुने २० मध्ये १९ पदमा निर्वाचन भइसकेको छ । निर्वाचित सांसदहरूले सोमबार शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । बाँकी रहेको एक पदमा भने मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मनोनयन गर्नेछन् ।





























