काठमाडौँ / कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । अध्यक्ष सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट प्रहरीको टोलीले पक्राउ गरेको हो ।

सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए । पक्राउ अघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न आफू एक जिम्मेवार नागरिकका रूपमा तयार रहेको जनाएका थिए ।
आफू अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार रहेको सिरोहियाले प्रस्ट पारे । ‘कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैँ उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शङ्का छैन,’ सिरोहियाले विज्ञप्तिमा उल्लेख छन् । यी सब बिचमा पनि सहकारी ठगीलगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर पछि नहट्ने उनको दाबी छ ।
सिरोहिया आफूविरुद्ध जारी भएको पक्राउ पुर्जीविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका छन् । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । उक्त नागरिकता प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । प्रहरीको अनुरोधपछि जिल्ला अदालतले पुर्जी जारी गरेपछि उनी त्यसलाई रोक्न सर्वोच्चमा रिट दायर गरेका हुन् ।





























