हेटौँडा / जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत असार महिनामा अपराध नियन्त्रण, अनुसन्धान र उजुरी व्यवस्थापनमा उल्लेख्य सफलता हासिल गरेको छ । कार्यालयमा दर्ता भएका कुल मुद्दामध्ये ठुलो हिस्सा फस्र्योट भएको छ भने अभद्र व्यवहार र लागूऔषध सम्बन्धी मुद्दाहरू शतप्रतिशत किनारा लागेका छन्।

प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी माधवप्रसाद काफ्लेले दिनुभएको जानकारी अनुसार असार महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ विभिन्न २३ शीर्षकमा १३५ मुद्दा दर्ता भएकोमा ७७ मुद्दा फस्र्योट भएका छन्। यस अवधिमा सबैभन्दा बढी अभद्र व्यवहार सम्बन्धी मुद्दा दर्ता भएकोमा सो मुद्दा शतप्रतिशत फस्र्योट भएको छ भने लागूऔषधसम्बन्धी दर्ता भएका २५ वटै मुद्दाहरू पूर्ण रूपमा किनारा लागेका छन् । त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ विभिन्न ४३ उजुरी परेकोमा ३५ वटा फस्र्योट भइसकेका छन् ।
यस अवधिमा घरेलु हिंसातर्फ परेका ३६ उजुरीमध्ये १९ वटामा आपसी मिलापत्र गराइएको छ भने तीनवटा उजुरीलाई कानुनी प्रक्रियाका लागि अदालत पठाइएको छ । हराएका नागरिकहरूको खोजी कार्यमा पनि प्रहरीले सक्रियता देखाएको छ । असार महिनामा हराएका भनी दर्ता भएका १७ महिलामध्ये १३ जना र ६ पुरुषमध्ये तीनजना फेला परेका छन् । त्यसैगरी १५ बालबालिका हराएकोमा १४ जनालाई सकुशल फेला पारेर परिवारको जिम्मा लगाइएको छ।सर्वसाधारणका तत्कालीन गुनासा र अन्य निकायबाट आएका उजुरी व्यवस्थापनमा पनि मकवानपुर प्रहरीले द्रुत गतिमा काम गरेको छ । कार्यालयमा आएका कुल १४६ ठाडो उजुरीमध्ये १४० वटा फस्र्योट भइसकेका छन् भने जिल्ला प्रशासन कार्यालयमार्फत आएका १६ उजुरीमध्ये ११ वटा फछ्र्यौट गरिएको प्रहरीले जनाएको छ । समग्रमा मकवानपुर प्रहरीले अपराध नियन्त्रण र सामाजिक सुरक्षालाई सुदृढ बनाउँदै सर्वसाधारणका उजुरीहरूलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको यस तथ्याङ्कले स्पष्ट पार्छ ।





























