डोकोमा पानी बोक्ने बाध्यताको अन्त्य, घरघरमै स्वच्छ खानेपानी
हेटौंडा / एक समय खानेपानीको अभावले दैनिक जीवन नै कष्टकर बनेको हेटौंडा उपमहानगरपालिका–१४ मा अहिले अधिकांश घरधुरीमा नियमित रूपमा स्वच्छ खानेपानी पुगेको छ । व्यवस्थित वितरण प्रणाली विस्तारसँगै वर्षौँदेखि स्थानीयले भोग्दै आएको खानेपानी समस्या समाधान भएको हो ।
खानेपानीको अभावका कारण ड्राइभरडाँडा, उत्तरपानी, कालापानी र मयुरधापका बासिन्दा टाढाटाढाबाट पानी बोकेर ल्याउन बाध्य थिए। कतिपयले त पर्साको ३ नम्बर पुल क्षेत्रसम्म पुगेर दैनिक उपभोगका लागि पानी ल्याउनुपर्ने अवस्था भोगेका थिए ।
वडा अध्यक्ष दीपक खड्काका अनुसार निर्वाचित भएपछि खानेपानी समस्यालाई पहिलो प्राथमिकतामा राख्दै दीर्घकालीन योजना कार्यान्वयन गरिएको हो। विभिन्न खानेपानी उपभोक्ता समितिलाई एकीकृत गरी हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमार्फत वितरण प्रणाली सञ्चालनमा ल्याइएपछि समस्या समाधानतर्फ उल्लेखनीय प्रगति भएको उहाँले बताउनुभयो ।
खान...
