सहरमा एक दिन
* हरिहर खनाल
मनसुन भर्खरै निख्रन थालेको थियो, तर आकाश राम्ररी खुलेको थिएन । कनिके पानी बिरबिर परिरहेको थियो । बिहानी ढल्कन थालेको थियो । खाना खाईवरी बरन्डामा बसेर पत्रिका हेर्न थालेको थिएँ । पेटमा खाना परेपछि, एक आपसमा उछिनपाछिन गर्दै तलाउमा हुत्त्याएको बल्छीको आहारतिर ओइरिएका माछा झैँ विविध अवयवसित जोडिएका शरीरभित्रका सेलहरू पनि आमाशय तिरै केन्द्रित भएर हो कि कुन्नि ? आलस्यले छपक्क छोप्यो । आँखा लोलाउन थाले । निद्राले झप्प पार्यो । अलिअलि उङ्दै, अनि घरीघरी लोलाएका आँखा पत्रिकातिर डुलाउँदै थिएँ, हातको पत्रिका भुईँमा खस्नै लाग्दा मोबाइलको घण्टी बज्यो र म झसङ्ङ हुँदै बिउँझिएँ । मोबाइल उठाएँ, रविको रहेछ, । माझी औँलाले स्क्रिनमा छोएँ र दाहिनेतिर धकेलेँ । अनि देब्रे कानमा टाँसेर भनेँ, ‘अँ रवि भन, के छ हालखबर ?’
‘तिमीले लेखिसक्यौ ?’ बिना भूमिका रविले सोध्यो । रवि मेरो बाल सखा हो । साहित्यिक पत...








