युरोकपमा छानियो क्रोएसिया
काठमाडौँ, ६ मङ्सिर । क्रोएसिया युरोकप २०२४ मा छनौट भएको छ । मङ्गलवार राति सम्पन्न समूह डी अन्तर्गतको खेलमा अर्मेनियालाई १-० गोल अन्तरले पराजित गर्दै क्रोएसिया युरोकपमा छनौट भएको हो ।
क्रोएसियाको जितमा खेलको ४३औँ मिनेटमा आन्ट बुडीमिरले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि क्रोएसियाको समूह डी मा ८ खेलमा १६ अङ्क भएको छ र समूह उपविजेता हुँदै युरोकपमा छनौट भएको छ । यस समूहबाट समूह विजेता हुँदै टर्की युरोकपमा छनौट भएको छ ।
यो सँगै अब प्लेअफबाट छनौट हुने तीन देश बाहेक युरोकपमा खेल्ने २१ को टुङ्गो लागेको छ । युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुँदै छ । आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समूह ए बाट स्पेन र स्कटल्यान्ड, समूह बि बाट फ्रान्स र नेदरल्याण्डस, समूह सी बाट इङल्याण्ड र इटाली छानिएका छन् ।
...








